गुल्मीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि : एक सय ८३ जना संक्रमित उपचार पछि निको भए

0
373

तिलाचन पाण्डे
असार २०,२०७७ गुल्मी  :  गुल्मीमा शनिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या तीन सय ४१ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रेसुंगा नगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
संक्रमित मध्ये ५ जना महिला र ४ जना पुरुष रहेका छन् । उनीहरु सबै भारतबाट आई क्वारेन्टाइनमा बसेका रहेको कार्यालयले जनाएको छ ।
एक सय ८३ जना संक्रमित निको भए
गुल्मीमा कुल तीन सय ४१ जना संक्रमितहरु मध्ये एक सय ८३ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
जिल्लाका स्थानीय तहहरुले निर्माण गरेका बिभिन्न आइसोलेसनमा बस्दै आएका एक सय ८३ जना संक्रमितहरु निको भएर घर फर्किएको आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार रेसुङगा नगरपालिकाका ४१ , मुसिकोट नगरपालिकाका १० , मदाने गाउँपालिकाका ५ , रुरुक्षेत्रका १८, छत्रकोटका १५, मालिकाका १३, चन्द्रकोटका १७, इश्माका १७ , धुर्कोटका २७, गुल्मीदरवारका १० जना र सत्यवती गाउँपालिकाका १० जना गरी कुल एक सय ८३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
यस्तै गुल्मी जिल्लाका बिभिन्न आइसोलेसनमा राखेर एक सय ५५ जनाको उपचार भइरहेको छ भने ९४२ जना क्वारेन्टाइनमा रहेका छन् ।
हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको ज्यान गइसकेको छ ।

SHARE