असार १९,२०७७ गुल्मी :
इश्माको पहिरोमा परि बेपत्ता भएकी ७ बर्षिय अपेक्षाको शब फेला परेको छ । उनकी आमा अन्दाजी २७ बर्षिय इश्वरी खत्री घाइते भएको र उनको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्थले जानकारी दिए ।
जिल्लाको इश्मा गाउँपालिका वडा नं १ हस्तिचौरको मल्दीमा गएको पहिरोका कारण गोठ बगाउँदा बसन्त सारुका १८ महिने बालक सिजन सारुको मृत्यु भएको थियो । यो संगै पहिरोमा परी मृत्यु हुनेको संख्या दूई पुगेको छ ।
पहिरोमा परी घाइते भएका ४ जना मध्ये अपेक्षाकी आमा २७ बर्षिय इश्वरी खत्री र १८ महिने बालककी आमा सृजना सारुको अबस्था गन्भीर रहेको छ भने अन्दाजी ६० बर्षिय टीका खत्री र ५५ बर्षकी पुतला खत्री सामान्य घाइते भएका छन् ।
यस्तै मुसिकोट नगरपालिका वडा नं २ को हाँडीखोलामा हरिप्रसाद घिमिरेको घुम्तिपसल पहिरोले बगाउँदा अन्दाजी ६५ बर्षिय भागीरथ घिमिरे बेपत्ता भएको र बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको पन्थले जानकारी दिए ।
यस्तै मुसिकोट नगरपालिका वडा नं २ राताचौरका जनक जोशीको घर र कुमानसिंह खत्रीको घर पहिरोले भत्किएकाले सुरक्षित स्थानमा सारिएको छ ।
मुसिकोट नगरपालिका २ अमराइका रामबहादुर सुनारको गोठ पहिरोले बगाउँदा तीन वटा भैसी , ७ वटा बाख्रा , टेकबहादुर सार्कीको गोठ सहित तीन वटा भैसी , अर्जुनबहादुर सिंहको गोठ सहित एउटा भैसी र चार वटा बाख्रा बगाएको पन्थले जानकारी दिए ।
गुल्मीमा गएराती देखि अबिरल बर्षा भएकाले घटना स्थलहरुमा नेपाली सेना , शसस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार तथा खोजीकार्यमा खटिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।