गुल्मी पहिरो : १८ महिने बालकको मृत्यु , दूई जना बेपत्ता

0
913
फाइल फोटो

तिलाचन पाण्डे
असार १९,२०७७ गुल्मी :
अबिरल बर्षाका कारण गुल्मीमा पहिरोले गोठ बगाउँदा १८ महिने बालकको मृत्यु भएको छ ।
जिल्लाको इश्मा गाउँपालिका वडा नं १ हस्तिचौरको मल्दीमा राती पहिरोले गोठ बगाउँदा गोठमा सुतिरहेका बसन्त सारुका १८ महिने बालक सिजन सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्थले जानकारी दिए ।
यस्तै सोही ठाउँमा पहिरोका कारण अन्दाजी २७ बर्षिय इश्वरी खत्री घाइते भएको र उनकी ७ बर्षकी छोरी अपिक्षा खत्री बेपत्ता रहेको पन्थले जानकारी दिए ।
यस्तै मुसिकोट नगरपालिका वडा नं २ को हाँडीखोलामा हरिप्रसाद घिमिरेको घुम्तिपसल पहिरोले बगाउँदा अन्दाजी ६५ बर्षिय भागीरथ घिमिरे बेपत्ता भएको र बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको पन्थले जानकारी दिए ।
यस्तै मुसिकोट नगरपालिका वडा नं २ राताचौरका जनक जोशीको घर र कुमानसिंह खत्रीको घर पहिरोले भत्किएकाले सुरक्षित स्थानमा सारिएको पन्थले जानकारी दिए ।
यस्तै मुसिकोट नगरपालिका २ अमराइका रामबहादुर सुनारको गोठ पहिरोले बगाउँदा तीन वटा भैसी , ७ वटा बाख्रा , टेकबहादुर सार्कीको गोठ सहित तीन वटा भैसी , अर्जुनबहादुर सिंहको गोठ सहित एउटा भैसी र चार वटा बाख्रा बगाएको पन्थले जानकारी दिए ।
गुल्मीमा गएराती देखि अबिरल बर्षा भएकाले घटना स्थलहरुमा नेपाली सेना , शसस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार तथा खोजीकार्यमा खटिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

SHARE