विमला ढकाल,
असार १५ ,२०७७ बर्दिया : अब विपन्न तथा जेहन्दार विद्यार्थीले पनि एमबीबीएस पढ्न पाउने भएका छन् । बर्दियाको बारबर्दिया नगरपालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस डाक्टर पढाउने भएको हो । नगरका विद्यार्थीहरु मध्ये एक जना गरिव, विपन्न तथा जेहेन्दर विद्यार्थीलाई एमबीबीएस पढाउने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ ।
विज्ञान विषय लिएर दश जोड दुई कक्षा पास गरि एमबीबीएस पढनको लागि संचालन हुने प्रवेश परीक्षामा नाम निकाल्न सफल भएको एक जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाइने छ ।
पढाई पुरा नहुञ्जेलसम्मको पढाई खर्च नगरपालिकाले व्यर्होने गरि नगरले कार्यक्रम ल्याएको बारबर्दिया नगरपालिका शिक्षा शाखा अधिकृत टिकानाथ गोसाईले जानकारी दिए । अध्ययन पुरा गरेर आएपछि आफनै नगरमा रोजगार उपलब्ध गराउने नगरको योजना छ । एमबीबीएस पुरा गरेर आए पछि कम्तीमा २ वर्ष आफनै नगरमा सेवा गर्नु पर्ने छ ।
आगामी आर्थिक वर्ष २०७७÷ ०७८ देखि हरेक वर्ष नगरको एक जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमविविएस पढाउने नगरको योजना रहेको छ । आर्थिक अभावका कारण विपन्न तथा जेहेन्दार विद्यार्थी एमबीबीएस पढनबाट वञ्चित नहुन भनेर यो कार्यक्रम ल्याइएको नगरप्रमुख दुर्गाबहादुर थारुले बताए ।
यसका लागि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा पहिलो वर्षका लागि १७ लाख रुपैँया बजेट विनियोजन गरेको छ । पढाईका लागि हरेका वर्ष बजेट छुट्याइदै जाने नगरपालिकाले जनाएको छ ।
५ वर्षको अध्ययन अवधीमा करिव ४५ लाख रुपैँया खर्च हुने नगरको अनुमान छ । नगरले नै आफ्नै खर्चमा एमबीबीएस पढाइदिने भएपछि अब विपन्न तथा जेहन्दार विद्यार्थीले पनि एमबीबीएस पढ्न पाउने भएका छन् । नगरको यस्तो निर्णयले विद्यार्थी तथा अभिभावकहरु खुसी समेत भएका छन् ।