विमला ढकाल,
असार १५ ,२०७७ बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणमा परि राजापुरको वन क्षेत्रमा एकैदिन २ जना घाइते भएका छन् । पाटे बाघको आक्रमणमा परि बर्दिया राजापुर नगरपालिका १० लालपुर गाउँ र मझेरा गाउँका २ जना घाइते भएका डिभिजन बन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले जानकारी दिए ।
पाटे बाघको आक्रमणमा परि राजापुर नगरपालिका १० लालपुर गाउँका मोहन थारु र मझेरा गाउँका दयाराम थारु घाइते भएका कोठियाघाटमा रहेको अस्थायि प्रहरी पोष्टले जनाएको छ ।
गाउँ नजिकै भैँसी चराउँदै गर्दा लालपुरका मोहन थारुलाई आइतबार बिहान र बाघ रहेको क्षेत्रमा बाघ भगाउन पुगेको टोलीसंगै पुगेका मझेराका दयाराम थारुलाई दिउँसो बाघले आक्रमण गरेको हो ।
पाटे बाघ ओहोरदोहोर गर्ने मुख्य मार्ग (कोरीडोर) क्षेत्रमा निकुञ्ज भित्रबाट सामुदायिक वनमा निस्किएको पाटे बाघ मझेरी टापु नजिक सामुदायिक वनमा लुकेर बसेको थियो ।
आक्रमण गर्ने बाघ सामुदायिक वनमा लुकेर बसेको भन्ने खबरपछि बर्दिया निकुञ्जको हात्ती सहितको बाघ भगाउने टोलीले बाघ भगाएको डिभिजन बन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले बताए ।
पछिल्लो समय राष्ट्रिय निकुञ्ज तथा सामुदायिक वनबाट पाटेबाघ समय समयमा गाउँ प्रबेस गरेर स्थानीयलाइ त्रसीत बन्ने गरेका छन् ।