पाल्पा निस्दीका कृषकलाई कागतीका विरुवा वितरण

0
477

सुशीला रेग्मी

रामपुर (पाल्पा), १४ असार : पाल्पाको निस्दी गाउँपालिकाका कृषकलाई कागतीका विरुवा वितरण गरिएको छ ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्र्तगत गाउँपालिकाको वडा नं ६ को अर्चले र ७ को ज्यामिरेमा करिव सात हजार विरुवा कृषकलाई वितरण गरिएको छ । निस्दी ७ को ज्यामिरेमा एक कार्यक्रम गरी कृषकलाई विरुवा वितरण गरिएको हो ।

वडा सदस्य लालबहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष रिताकुमारी अर्याल रहेका थिए । कृषकलाई कागतीका विरुवा वितरण गर्दै उपाध्यक्ष अर्यालले खाली जमिनमा कागती लगाएर मनग्य आम्दानी लिन सकिने भएकाले मलजल, सिंचाई र रेखदेख गरेर आयस्रोत लिन कृषकलाई अनुरोध गरे ।

कार्यक्रममा गाउँपालिकाका लेखा अधिकृत सरोज काफ्ले, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका सहजकर्ता पुष्प कँुवर लगायतले कागती खेतीबाट राम्रो कमाई गर्न सकिने बताए ।

अर्चले क्षेत्रका एक सय चार घरधुरी र ज्यामिरे क्षेत्रका एक सय ७५ घरधुरीका कृषकलाई विरुवा उपलब्ध गराइएको कृषि शाखा प्रमुख खिमराज कोइरालाले जानकारी दिए ।
यस कार्यक्रम अन्र्तगत एक लाख चार हजारको वजेटबाट सल्यानबाट विरुवा खरिद गरेर एक घर २४ विरुवा स्थानीयलाई वितरण गरिएको छ । कार्यक्रमको संचालन कृषि शाखा प्रमुख खिमराज कोइरालाले गरेका थिए ।

SHARE