बर्दियाका ७२ जना संक्रमित उपचारपछि निको भए

0
480

विमला ढकाल, बर्दिया, असार १३ ,२०७७ : बर्दियाका ७२ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । शनिबार बर्दियाको बारबर्दिया नगरपालिकाका ५ जना उपचारपछि निर्को भएसंगै निको हुनेको संख्या ७२ पुगेको हो ।
शनिबार बाँकेको आइसोलेसनमा उपचारारत बर्दियाको बारबर्दिया नगरपालिकाका ५ जना डिस्चार्ज भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षण कृष्ण गोपाल चौधरीले जानकारी दिए । अहिले सम्म ९ जना महिला र ६३ जना पुरुष उपचारपछि निको भएका हुन् ।
निको हुनेका बर्दियाको गुलरिया नगरपालिकाका १६ जना, मधुवन नगरपालिकाका ८ जना, बाँसगढि नगरपालिकाका १५ जना, राजापुर नगरपालिकाका ९ जना छन् । यस्तै बारबर्दिया नगरपालिकाका ८ जना, ठाकुरबाबा नगरपालिकाका ३ जना तथा बढैयाताल गाउँपालिकाका १३ जना निको भएर घर फर्किएका छन् ।
जिल्लामा १ सय ६५ संक्रमित
बर्दियामा कोरोना संक्रमितको संख्या १ सय ६५ पुगेको छ । शनिबार बर्दियाका थप ४ जनामा संक्रमण पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या १ सय ६५ पुगेको हो ।
आज बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का ३५ बर्षीय १ महिला, मधुवन नगरपालिका वडा नम्बर ५ का ३३ र २५ बर्षीय पुरुष तथा गेरुवा गाउँपालिका वडा नम्बर २ का ३५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा २४ घण्टामा बाँकेका २ र बर्दियाका ४ गरि ६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै बर्दियाका ८ बटै पालिकामा संक्रमण फैलिसकेको छ ।
बर्दियामा संक्रमण फैलिदै गएको र परिक्षणको गती सुस्त भएपछि स्थानीय त्रसित समेत बनेका छन् । संंक्रमितलाई स्थानीय पालिकाहरुले तयार पारेका आइसोलेसन कक्षमा राखिदै आइएको छ ।
जिल्लामै पीसीआर परीक्षण प्रयोगशाला खोल्ने तयारी
बर्दियामै पिसिआर परिक्षण प्रयोगशाला खोल्ने तयारी गरिएको छ । जिल्लामा कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएसंगै बाँके स्थित भेरी अस्पतालमा स्वाब परीक्षणको नतिजा ढिलो आउन थालेपछि जिल्लामै पीसीआर परीक्षण प्रयोगशाला खोल्ने तयारी गरिएको हो ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा असार १२ गते बसेको जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले प्रयोगशाला संचालनमा ल्याउने निर्णय गरेको हो ।
अहिले स्वाब परीक्षणका लागि पठाईएका नमूनाहरुको नतिजा आउन ५ देखि १० दिन लाग्ने गरेको छ । नतिजा आउन ढिलो हुने गरेपछि क्वारेन्टिनमा बसेकाहरु समस्यामा पर्न थालेका छन् । बर्दियाका स्थानीयले यसअघिबाट नै जिल्लामै प्रयोगशाला सञ्चालनमा ल्याउन पटक पटक माग गर्दै आएका थिए ।
जिल्लालाई कोरोनामुक्त बनाउने लक्ष्य सहित जिल्लामै ल्याव आवस्यक पर्ने भएपछि ल्याब प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको जनाइएको छ । गुलरियाको साविक महिला तथा बालवालिका कार्यालयको भवनमा प्रयोगशाला राख्ने तयारी गरिएको छ ।
प्रयोगशालाको खर्च ब्यवस्थापनका लागि गुलरिया नगरपालिकाबाट ४० लाख र अन्य पालिकाहरुबाट २०÷२० लाख रुपैया प्रकोप ब्यवस्थापन कोषको खातामा जमा गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । समितिले प्रयोगशाला संचालनका लागि असार १५ गते भित्र स्थानीय पालिकासँग सहयोगका लागि प्रतिवद्धता माग गरेको छ ।

SHARE