फलफुलका विरुवा रोपणमा प्राथमिकता दिदै पाल्पाका स्थानीय सरकार

0
671

सुशीला रेग्मी

रामपुर (पाल्पा), १३ असार : खाली जमिनमा फलफुलका विरुवा लगाएर आयस्रोत बढाउन पाल्पाका स्थानीय सरकारहरुले फलफुलका विरुवा रोपण कार्यक्रमलाई प्राथमिकता दिएका छन् ।
यहाँका स्थानीय सरकारले वर्षौदेखि बाँझिन पुगेका जमिनमा फलफुल खेतीतर्फ स्थानीयलाई प्रोत्साहन गर्दै निशुल्क विरुवा उपलब्ध गराएका छन् ।

रामपुर नगरका कृषकलाई कागती दश हजार, सुन्तला एक हजार, अमिलोका तीन सय विरुवा वितरण गरिएको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिए ।

पछिल्लो समय रामपुर नगरपालिकामा विरुवा लगाउने कार्यमा कृषकको आकर्षण बढ्दो रहेको र माथिल्लो भाग खाली रहेको हुदा कागती सुन्तला जातका व्यवसायिक खेतीका लागि उपयुक्त ठाउँ रहेको कृषि शाखा प्रमुख पाण्डेयले बताए ।

दश हजार कागतीका विरुवामध्ये वडा नं १ मा तीन हजार, १० मा एक हजार विरुवा कृषकलाई वितरण गरियो भने बाँकी छ हजार विरुवा कृषि शाखाले नगरका सबै वडाका कृषकलाई उपलब्ध गराएको छ ।

त्यस्तै एक हजार सुन्तलाका विरुवा वडा नं १० का कृषकका लागि मात्र उपलब्ध गराइएको छ । कृषि शाखाको रु दुई लाख र पकेट क्षेत्रका रुपमा खेती गरेका वडा नं १ र १० को रु एक लाखको वजेटमा कृषकलाई पूर्ण अनुदानमा विरुवा वितरण गरिएको हो ।

आर्थिक विकास समिति संयोजक हुमनाथ न्यौपानेले बनमारा र रुख विरुवाले बाँझिन पुगेका जग्गामा कागती र सुन्तला लगाएर उत्पादन लिन सकिने भएकाले नगरले खाली जमिनमा विरुवा लगाऊ आम्दानीको स्रोत लिऔँ भन्ने अभियानमा लागेको बताए ।

कृषि शाखाले उपलब्ध गराएको दुई सय ५० कागती, सुन्तलाका विरुवा खाली जमिनमा लगाउने तयारी गरेको रामपुर नगरपालिका ८ बस्ने लालप्रसाद भण्डारी बताउँछन् । उनले खेती गर्न छाडिएका पाखोबारीमा गतवर्ष देखि नै कागती, सुन्तला जातका विरुवा लगाएर हराभरा बनाएका छन् ।

रम्भा गाउँपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक कार्यक्रम अनुसार दश हजार ७३० विरुवा कृषकलाई उपलब्ध गराइएको सुचना अधिकारी भक्तुजंग रानाले जानकारी दिए ।

उनका अनुसार वडा नं. १ मा लिची एक हजार १००, कागती एक हजार ८००, वडा नं २ मा लिची २३०, कागती एक हजार ५०० विरुवा, वडा नं ३ मा लिची ५००, कागती एक हजार ८०० वितरण गरिएको छ ।

वडा नं ४ मा ३०० लिची, कागती एक हजार ५०० र वडा नं ५ मा लिची ५०० र कागती एक हजार ५०० विरुवा वितरण गरिएको छ । गाउँपालिकाको वडा नं १ हुँगी र ३ को पिपलडाँडा लिची उत्पादनका लागि उपयुक्त ठाउँ रहेका छन् भने कागती खेती सबैजसो वडामा उत्पादन हुने कृषि प्राबिधिक बताउँछन् ।

निस्दी गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्र्तगत करिव सात हजार विरुवा कृषकलाई उपलब्ध गराउँदैछ । गाउँपालिकाको वडा नं ६ को अर्चले, सिमलडाँडा, ७ को चारघरे, घोर्लिखरक, दार्सिङ्गबास, हुवास क्षेत्रका करिव दुइ सय ७९ घरधुरीलाई कागतीका विरुवा वितरण गर्ने तयारी भइरहेको कृषि शाखा प्रमुख खिमराज कोइरालाले जानकारी दिए ।

उनका अनुसार यस कार्यक्रम अन्र्तगत रु एक लाख चार हजारको वजेटबाट एक घर २४ विरुवा स्थानीयलाई वितरण गरिने भएको छ ।

त्यसैगरी बगनासली गाउँपालिकाले २५ हजार विरुवा वितरण गर्ने भएको छ । कागती १४ हजार, लिची र आँप दुई÷दुई हजार सुन्तला पाँच हजार ५००, केरा एक हजार ७००, कफि ५०० र अंगुर, अम्बा लगायत अन्य तीन हजार विरुवा वितरण गर्ने कार्यक्रम रहेको कृषि शाखा प्रमुख राजेश बोहरा बताउँछन ।

उहाँका अनुसार फलफुल खेती विस्तार कार्यक्रम अन्र्तगत रु दश लाखको वजेटमा विरुवा वितरण गर्ने कार्यक्रम रहेको छ । यो क्षेत्र फलफुल खेतीमध्ये कागती र सुन्तला मुख्य उत्पादनका रुपमा लिइने गरिन्छ ।

SHARE