रामपुरका कृषकलाई पूर्ण अनुदानमा कागती र सुन्तलाका विरुवा

0
576

सुशीला रेग्मी

रामपुर (पाल्पा), ११ असार : पाल्पाको रामपुर नगरपालिकाले कृषकलाई पूर्ण अनुदानमा कागती, सुन्तला र अमिलाका विरुवा वितरण गरेको छ ।
नगरपालिकालाई सुन्तला र कागतीमा आत्मनिर्भर बनाएर आयस्रोत बृद्धि गर्न कृषकको मागको आधारमा विरुवा उपलब्ध गराइएको छ । नगरपालिकाको पूर्ण अनुदानमा विरुवा पाएपछि कृषकहरु खुशी भएका छन् ।

कृषि शाखा कार्यालयमार्फत विरुवा वितरण गरिएको छ । आर्थिक विकास समिति संयोजक हुमनाथ न्यौपानेले कृषकलाई विरुवा वितरण गर्दै रामपुर नगरका खाली रहेका जग्गामा सुन्तला र कागतिका विरुवा लगाएर मनग्य आम्दानी लिन सकिने बताए ।
उनले बनमारा र रुख विरुवाले बाँझिन पुगेका जग्गामा कागती र सुन्तला लगाएर उत्पादन लिन सकिने भएकाले नगरले खाली जमिनमा विरुवा लगाऊ आम्दानीको स्रोत लिऔँ भन्ने अभियानमा लागेको बताए ।

कागती दश हजार, सुन्तला एक हजार, अमिलोका तीन सय विरुवा वितरण गरिएको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिए । पछिल्लो समय रामपुर नगरपालिकामा विरुवा लगाउने कार्यमा कृषकको आकर्षण बढ्दो रहेको र माथिल्लो भाग खाली रहेको हुदा कागती सुन्तला जातका व्यवसायिक खेतीका लागि उपयुक्त ठाउँ रहेको कृषि शाखा प्रमुख पाण्डेयले जानकारी दिए ।

दश हजार कागतीका विरुवामध्ये वडा नं १ मा तीन हजार कागती, १० मा एक हजार विरुवा कृषकलाई वितरण गरियो भने बाँकी छ हजार विरुवा कृषि शाखा नगरका सबै वडामा वितरण गरिएको छ । त्यस्तै एक हजार सुन्तलाका विरुवा वडा नं १० का कृषकका लागि मात्र उपलब्ध गराइएको प्राबिधिक सुशील अधिकारीले बताए ।

कृषि शाखाको रु दुई लाख र पकेट क्षेत्रका रुपमा खेती गरेका वडा नं १ र १० को रु एक लाखको वजेटमा कृषकलाई पूर्ण अनुदानमा विरुवा वितरण गरिएको प्राबिधिक सपना खड्काले जानकारी दिइन ।

यसैगरी रामपुर नगरपालिका वडा नं ८ को माथिल्लो भेगका कृषकलाई दुई हजार तीन सय कागती र दुई हजार सात सय सुन्तलाका विरुवा यसभन्दा अघि नै उपलब्ध गराइसकिएको कृषि शाखाका प्राबिधिक प्रज्ज्वल केसी बताउँछन् ।

SHARE