रामपुर नगरको प्राथमिकता : कृषि, शिक्षा, स्वास्थ्य, रोजगार तथा पर्यटन

0
742

सुशीला रेग्मी

रामपुर (पाल्पा), असार १०,२०७७ :पाल्पाको रामपुर नगरपालिकाको सातौँ नगर सभाले कृषि, शिक्षा, स्वास्थ्य रोजगार तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
बुधवार नगर प्रमुख रमणबहादुर थापाले सभामार्फत नगरका नागरिकको जीवनस्तर उकास्न कृषि तथा पशुपंक्षी उत्पादनमा जोड, बाँझो जमिनमा तरकारी खेती, दूध मासु र अण्डा उत्पादन गरेर आत्मनिर्भर बनाउने, उत्पादित कृषि उपजको बजारीकरण नगरपालिकाले गर्ने नगर प्रमुख थापाले जानकारी गराए ।

सार्वजनिक जग्गामा फलफुलका बिरुवा रोपण, निजि जग्गामा उत्पादनमुलक खेति गर्ने, एक वडा एक उत्पादनलाई निरन्तरता दिने, रोजगारीका लागि वैदेशिक रोजगारमा जाने युवालाई गाउमै कृषि व्यवसायमा प्रेरित गर्न अनुदानका कार्यक्रम, एक घर एक रोजगार प्रदान गर्ने नगर प्रमुख थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको जानकारी दिए ।

नगरपालिकाले संचालन गरेको युवा स्वरोजगार कार्यक्रमबाट एक सय भन्दा बढी युवा प्रत्यक्ष लाभान्वित भएको हुदा आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
रामपुर नगरपालिका भित्र रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रवद्र्धन तथा विकास गरेर पर्यटकको संख्या बृद्धि गर्ने र स्थानीयको आयआर्जनमा टेवा पुग्ने खालका कार्यक्रमलाई प्राथमिकता दिइएको छ । नगर प्रमुख थापाले रामपुरको पर्यटकिय क्षेत्र वडा नं ७ को बाहुनडाँडा र १० को मगरेमा व्यवसायिक प्याराग्लाईडिङ उडान, कालीगण्डकीमा निजि क्षेत्रको सहकार्यमा जलयात्रा संचालन, राम्चेवन सिताकुण्ड क्षेत्रमा पदयात्रा संचालन गर्ने राष्ट्रिय रुपमा चर्चा पाएको कालीगण्डकी डाईभर्सनलाई जोगाउने, रामपुरका ऐतिहासिक पुराना धार्मिक क्षेत्र संरक्षण गर्ने जस्ता पर्यटकिय तथा धार्मिक क्षेत्र विकासका कार्यक्रम ल्याएको उनले बताए ।

शैक्षिक गुणस्तर बढाउन सबै विद्यालयको भौतिक पुर्वाधार विकास, अनलाइन शिक्षा, सबै विद्यालयमा एउटै प्रकृतिको रंगरोगन लगाउने, बालमैत्रि कक्षाकोठा संचालन गर्न फर्निचरको व्यवस्था, विद्यालय निरिक्षण तथा अनुगमनलाई प्रभावकारी बनाइने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
रोग तथा प्रतिरोधात्मक क्षमताको विकासमा जोड दिने, पन्ध्र शैयाको आयुर्वेद अस्पताल बनाउन केन्द्रमा माग गर्ने, आयुर्वेदिक सेवालाई प्रभावकारी बनाउने नगर प्रमुख थापाले सातौ नगर सभामा प्रस्तुत गरिएको छ । नगर प्रमुख थापाले विश्व नै कोरोना भाइरस संक्रमण बढ्दो रहेको अवस्थामा रामपुर अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउन पहल गर्ने बताए ।

नगर सभामा नगर प्रवक्ता हुमनाथ न्यौपानेले नागरिकको आयस्तर बृद्धि हुने खालका कार्यक्रमलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समेटेको बताउँदै सातौँ नगर सभामा पेश भएको नीति तथा कार्यक्रम सर्वसहमतीले पारित भएको जानकारी गराए ।

नगर उपप्रमुख विष्णुदेवि घिमिरे आचार्यले स्वागत गर्नुभएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले यस आर्थिक वर्षमा भए गरेका कार्यक्रमबारे जानकारी दिदै भौतिक पूर्वाधारतर्फका अधिकांश योजना निर्माणको अन्तिम चरणमा पुगेको बताए ।
कार्यक्रममा सहभागीले नगर प्रमुख थापाले पेश गर्नुभएको नीति तथा कार्यक्रममा आफ्ना सुझाव राख्नुभएको छ । नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले गरेका हुन् । नगर सभाको सामुदायिक रेडियो रामपुरले प्रत्यक्ष प्रसारण गरेको थियो ।

SHARE