ग्लोबल बैंकद्धारा मुसिकोट नगरको बिपद कोषमा ५० हजार सहयोग

0
574

हुमाकान्त पोखरेल
असार १०,२०७७ गुल्मी ः गुल्मीको मुसिकोट नगरपालिका वामीस्थित ग्लोबल आइ.एम्.ई. बैंक वामी शाखाले मुसिकोट नगरपालिकालाई ५० हजार आर्थिक सहयोग गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि नगरपालिकाले सुरु गरेको विपत् राहत कोषमा बैंकले उक्त रकम जम्मा गरेको हो । बुधबार बैंकका प्रमुख माधव उपाध्यायले नगरपालिकाका मेयर सोमनाथ सापकोटालाई रकम जम्मा गरेको भौचर हस्तान्तरण गरे ।
भौचर बुझ्दै मेयर सापकोटाले सहयोग गर्ने ग्लोबल आइ.एम्.ई. बैंकलाई धन्यवाद् दिए । ‘विपद्को बेला जति रकमले ठुलो काम गर्छ ।’ उनले भने, ‘नागरिकको सुरक्षाका लागि बैंकले पनि दायित्व बोध गरेको छ, खुसि लागेको छ ।’ बैंकका प्रमुख उपाध्यायले नागरिकले गरेको कारोबारबाट नै सँस्था चल्ने भएकोले विपद् पर्दा सहयोग गरेको बताए ।
मुसिकोट नगरपालिकाले सुरुवात गरेको विपद् व्यवस्थापन कोषमा अहिलेसम्म एक करोडभन्दा बढी रकम संकलन भएको छ । कोष सुरु गरेदेखि हालसम्म एक करोड १८ लाख सात हजार ३४१ संकलन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए ।
जसमध्ये नगरपालिकाका कर्मचारीहरुबाट एक लाख ४६ हजार ५५६, नगरभित्रका शिक्षकहरुबाट छ लाख २७ हजार २२०, बराह मन्दिर व्यवस्थापन समितिबाट २५ हजार सहयोग भएको छ ।
त्यस्तै मुसिकोट नगरपालिका ५ निवासी शिवराम भट्टराईबाट दुई हजार एक सय, खातामा भएको नगद मौज्दातबाट चार लाख २५ हजार ४०, गत आर्थिक बर्षको बैंक मौज्दातबाट छ लाख ४२५, मैत्री बहुउदेश्यीय सहकारी सँस्थाबाट २५ हजार सहयोग उपलब्ध भएको भण्डारीले बताए ।
त्यस्तै ५ नम्बर प्रदेश सरकारबाट १५ लाख, कार्यपालिकाबाट रकमान्तर गरेको रकमबाट ८९ लाख ६० हजार, धौलागिरी र सूर्योदय लघुवित्त वित्तिय सँस्थाबाट १०÷१० हजार तथा ग्लोबल आइ.एम्.ई. बैंकबाट ५० लाख सहयोग उपलब्ध भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए ।

SHARE