पाल्पामा मौरीपालनलाई पकेट क्षेत्रका रुपमा विकास गरिदैँ

0
442

सुशीला रेग्मी

रामपुर (पाल्पा), ९ असार : मौरीघार र मह बिक्रि गरेर प्रशस्त आम्दानी लिन सकिने भएपछि पाल्पामा मौरीपालन व्यवसायलाई प्रवद्र्धन गरिन थालिएको छ । कृषि ज्ञानकेन्द्रले पकेट क्षेत्र बिस्तार गर्न अनुदान कार्यक्रम कृषकमाझ ल्याएको हो ।

गतवर्ष देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत मौरी पकेट क्षेत्र विस्तार कार्यक्रम जिल्लामा संचालनमा आएको छ ।

ज्ञानकेन्द्रको सहयोगमा तानसेन नगरपालिका ८ मदनपोखरामा मणि मौरीपालन पकेट समिति र बगनासकाली गाउँपालिका वडा नं ८ स्थित बराङ्दीमा हिमाली मौरीपालन पकेट समितिमार्फत कार्यक्रम संचालन गरिएको छ ।

मणि मौरीपालन पकेट समितिले गतवर्ष देखि नै मौरी पकेट कार्यक्रम संचालन गरेको छ । समितिले एक हजार २०० वटा मौरी घारमा मौरी पकेट कार्यक्रम संचालन गरेको छ । पकेट कार्यक्रममा यहाँका २३ घरका कृषक आबद्ध छन् । जसमध्ये कम्तिमा एक घरले ५० घार देखि बढीमा एक सय ५० सम्म घारमा मौरीपालन गरेका छन् ।

यस आर्थिक वर्षमा कृषि ज्ञानकेन्द्र र पकेट समितिको समन्वयमा रु २१ लाख ५०० को लागतमा तीन सय ३३ खाली मौरीघार तथा मौरीजन्य सामग्री, औषधी कृषकलाई वितरण गरिएको समितिका अध्यक्ष तेजबहादुर भण्डारीले बताए ।

उनका अनुसार पकेट क्षेत्र विस्तार कार्यक्रम अन्र्तगत गतवर्ष एक सय मौरीघार ज्ञानकेन्द्रले उपलब्ध गराएको थियो ।

“मौरीपालनबाट कृषकको आयस्रोत बढ्दै जान थालेको छ, मौरीघार र महको माग धेरै आएपनि अहिले भने परिस्थिती सहज नभएकाले बिक्रि गर्न सकिएको छैन” उनले भने । ज्ञानकेन्द्रले मौरीपालनमा लगानी गरिदिएपछि यहाँका कृषक आफैले घार थप गरी व्यवसायीकतामा जोड दिन थालेका छन् ।

यसै आर्थिक वर्ष देखि सुरु भएको हिमाली मौरी पकेट समितिले ज्ञानकेन्द्रको रु १४ लाख ८० हजार र समितिको रु १४ लाख ८० हजार गरी रु २९ लाख ६० हजार लगानीमा समन्वय गरी कार्यक्रम सुचारु गरेको छ । सो रकमबाट ३२ जना कृषकलाई हालसालै दुई सय वटा गोला सहितको मौरीघार वितरण गरिएको छ ।

साथमा मौरी स्ट्याण्ड तीन सय, आधार चाका दुई सय किलो, चिनी छ हजार किलो (पाँच सय घारलाई प्रतिघार १२ किलोको दरले), टोपी ६० वटा, पन्जा एक सय वटा, मौरी उठाउने झोला (सर्भिस ब्याग) १२ वटा, मौरी रानी राख्ने भाँडो (क्वीन क्याच) एक सय, क्वीन गेट तीन सय र मौरीमा लाग्ने रोग निराकरणका लागि औषधी वितरण गरिएको समितिका अध्यक्ष पशुपति बस्याल बताउँछन् ।

यस पकेट समितिमा आबद्ध ५५ कृषक छन् भने पाँच सय ५० घारमा मौरी व्यवसाय थालनी गरिएको छ । घारको सङ्ख्या बढाउँदै जाने र यसै व्यवसायबाट कृषकलाई आर्थिक क्षेत्रमा अब्बल बनाउने समितिको योजना छ ।

गतवर्ष देखि जिल्लामा सुरु भएको मौरी पकेट कार्यक्रममा सहभागी कृषक आफैले मौरी घारमा लगानी व्यवसाय विस्तार गर्दै गएको कृषि ज्ञानकेन्द्र पाल्पाका बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए ।

“मौरीपालन व्यवसायमा कृषक आफैले गोला तथा घार थप्दै गएका छन्, ज्ञानकेन्द्रको मात्र भर नपरी आफैले लगानी बढाउँदै गएपछि अहिले आम्दानी लिन सुरु गरेका छन्” उनले बताए ।

पकेट कार्यक्रम संचालनका लागि एक पकेट क्षेत्रमा कम्तिमा पाँच सय गोला सहितको मौरीघार हुनुपर्नेछ । महको उत्पादन बृद्धि हुन थालेपछि कृषकले बाहिरी बजारमा पु¥याउन प्याकिङ्ग गरेर पठाउने तयारीमा रहेका छन् ।

मौरीपालनका लागि प्रशस्त जग्गा नचाहिने र करेसाबारी घरका आँगन तथा बारीका कान्ला, बगैँचामा मौरीघार राखेर कमाई गर्न सकिने र कृषकको आयस्रोत बृद्धि गर्न पकेट क्षेत्र विस्तारमा जोड दिइएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउछन् ।

जिल्लाका तानसेन र रामपुर नगरपालिका, बगनासकाली, निस्दी, तिनाउँ, पूर्वखोला लगायतका गाउँपालिकामा मौरीपालनमा कृषकको आकर्षण बढ्दो छ ।

स्थानीय तहले मौरीपालनमा प्रोत्साहन गर्दै वजेट उपलब्ध गराउन थालेपछि घर घरमा कम्तिमा एक घार भएपनि मौरी पाल्न थालिएको पाइएको छ । मौरीपालनमा लगानी धेरै गर्न नपर्ने र मह र घार पनि सजिलै संग खपत हुने भएकाले पछिल्लो समय जिल्लामा व्यवसायिक रुपले मौरी पाल्ने कृषक बढ्दै गएका छन् ।

SHARE