तिलाचन पाण्डे
असार ६,२०७७ गुल्मी : लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा बिहीबार सुत्केरी भएकी गुल्मीकी २१ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार अस्पतालमा भर्ना भएकी उनमा आरडिटी पोजेटिभ आएकाले स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही पठाइएकोमा उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालको कार्यकारी अध्यक्ष गोपाल पोखरेलले पुष्टि गरे ।
उनले लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा बिहीबार छोरीको जन्म दिएकी छन् । उनलाई अस्पतालको प्रि आइशोलेशनमा राखेर उपचार गरिएको पोखरेलले जानकारी दिए
उनको सम्पर्कमा आएका ५ जनालाई अस्पतालकै क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको पोखरेलले जानकारी दिए । आमा र बच्चाको स्वास्थ्य अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
उनका श्रीमान भारतबाट आई गुल्मीदरवार गाउँपालिकाको क्वारेन्टाइनमा १४ दिन बसेका थिए । उनमा आरडिटी रिपोर्ट नेगेटिभ आएकाले उनलाई घर पठाइएको गाउँपालिकाको स्वास्थ्य शाखा शाखाले जानकारी दिएको छ ।