विमला ढकाल,
असार ३ ,२०७७ बर्दिया : बर्दियामा पछिल्लो समयमा कारोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिन थालेको हो ।
बर्दियामा आज एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन ३१ जना संक्रमित थपिएसंगै जिल्लामा संक्रमितको संख्या १ सय ४१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले जानकारी दिए ।
आज बर्दियाको बढैयाताल गाउँपालिका १ र २ मा २६ जनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट केहि दिन पहिले आएर उनिहरु क्वारेन्टिनमा बसेका थिए, जनस्वास्थ्य निरिक्षक चौधरीले भने, उनिहरु सबैको आर.डि.टि परीक्षण गरियो, त्यसमध्येबाट केहिको रिपोर्ट पोजेटिभ आएपछि स्वाब संकलन गरिएको थियो । पिसिआर परीक्षणको रिपोर्ट पनि पोजेटिभ आयो ।
क्वारेन्टाइनमा आरडीटी परीक्षण नेगेटिभ देखिएर डिस्चार्ज भएका तर संक्रमितको संम्पर्कमा आएको अन्यको पनि भेरी अस्पताल नेपालगञ्जमा पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ पाइएको जनस्वास्थय निरीक्षक चौधरीले बताए । आज रिपोर्ट पोजेटिभ आएका २६ जना एउटै क्वारेन्टिनमा बसेका हुन् ।
यस्तै राजापुर नगरपालिकाका १ र बाँसगढी नगरपालिकाका ४ जनामा पनि आज संक्रमण पुष्टि भएको हो । एकैदिन बर्दियाका ३१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ सय ४१ पुगेको छ ।
समुदायमै फैलियो कोरोना
बढैयाताल गाउँपालिकामा समुदायमै कोरोना पुगेको पाइएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । क्वारेन्टाइनमा १४ दिन बसिसकेका, आरडीटी परीक्षण पश्चात घर फर्केका र उनीसँग सम्पर्कमा आएकाको स्वाब परीक्षण गर्दा कोरोना संक्रमणको नतिजा पोजिटिभ आएको हो ।
बढैयातालको साविक जमुनी क्षेत्रको समुदायमा कोरोना संक्रमण पुगेको जनस्वास्थय निरिक्षक चौधरीले बताए । बर्दियामा स्थानीय तहहरुले निर्माण गरिएका क्वारेन्टाइनहरु व्यवस्थित नहुदा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको जनाइएको छ ।
जेठ यता जिल्लामा धामधम कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
यस्तै बर्दियामा हालसम्म १३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् । जिल्लाको गेरुवा गाउँपालिका बाहेक ७ वटै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् ।