विमला ढकाल
असार २ ,२०७७ बर्दिया : ठाकुरबाबा नगरपालिकाका १ जना सहित बर्दियामा आज फेरि एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार एकैदिन ९ जना संक्रमित थपिएसँगै बर्दियामा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ ।
भारतबाट रोजगारी गरेर घर फर्किएका क्वारेन्टाइमा बसिरहेका बर्दियाका ४ वटा पालिकाका ९ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए ।
आज थपिएका मध्ये बर्दियाको बढैयाताल गाउँपालिकाका ४ जना, मधुवन नगरपालिकाका ३ जना, राजापुर नगरपालिकाका १ जना तथा ठाकुरबाबा नगरपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार बढैयाताल गाउँपालिका वडा नम्बर २ का १८, २०, २४ तथा ३० वर्षीय पुरुष, मधुवन नगरपालिका वडा नम्बर २ का २८ वर्षीय पुरुष, वडा नम्बर ६ का १९ वर्षीय पुरुष तथा वडा नम्बर ७ का ३६ वर्षीय पुरुष रहेको जनाइएको छ ।
यस्तै राजापुर नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुष तथा ठाकुरबाबा नगरपालिका वडा नम्बर २ का २० वर्षीय पुरुषमा पनि आज कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै बर्दियामा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ ।
भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परिक्षणका क्रममा ४ घण्टामा बाँकेको कोहोलपुरका १ जना र बर्दियाका ९ जना गरी १० जनाको कोरोना पोजेटिभ देखिएको हो ।
यसअघि सोमबार एकै दिन बर्दियाका १६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । संक्रमण देखिएका सबैलाई सम्वन्धीत पालिकामा तयार पारिएको आइशोलेसन कक्षमा राखिने बताइएको छ ।