सुरक्षाकर्मीहरुलाई पीपीई

0
435
रमेश विश्वकर्मा
गुल्मी, असार १ : गुल्मीमा सुरक्षाकर्मीहरुलाई पीपीई हस्तान्तरण गरिएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जोखिम न्यूनीकरणका लागि फ्रन्टलाइनमा रहि काम गरिरहेका जिल्लाका सुरक्षाकर्मीहरुलाई पिपिई हस्तान्तरण गरिएको हो ।
नेपाली काँग्रेस गुल्मी–काठमाडौं सम्पर्क समिति अन्तर्गत गठित विपद व्यवस्थापन समितिको सहयोगमा नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई ३९ थान पीपीई हस्तान्तरण गरेका हुन् ।
नेपाली कांग्रेस गुल्मीका पूर्व पार्टी सभापति त्रैलोक्य प्रताप सेन, पार्टी उप-सभापति विष्णुप्रसाद बलाल, सचिव खिलध्वज पन्थी, लगायतका जिल्लास्थित कांग्रेस नेताहरु र नेपाली काँग्रेस गुल्मी–काठमाडौं सम्पर्क समिति अन्तर्गत गठित विपद् व्यवस्थापन समितिका सदस्य सन्तोष पाण्डेको उपस्थितिमा प्रजिअ शर्मालाई पीपीई हस्तान्तरण गरिएको थियो ।
पीपीई हस्तान्तरण गर्दै सभापति श्रेष्ठले कोरोनाको जोखिमका बिच फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षाकर्मीलाई सजिलो होस् भन्ने उद्देश्यले नेपाली कांग्रेस गुल्मीको पहलमा नेपाली कांग्रेस गुल्मी-काठमाण्डौ सम्पर्क समितिले पिपिई पठाएको बताए ।
उनले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै हस्तान्तरण गरिएको पीपीईले सुरक्षाकर्मीलाई ठूलो सहयोग पुग्ने बताए । कार्यस्थलमा यसको भरपूर प्रयोग गर्न पनि आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी शर्माले पीपीई उपलब्ध गराएर सहयोग प्रदान गरेको प्रति नेपाली कांग्रेस गुल्मी-काठमाडौँ सम्पर्क समिति र गुल्मी कांग्रेसलाई धन्यवाद दिए ।
यस अघि नेपाल प्रेस युनियन गुल्मी मार्फत जिल्लामा क्रियाशिल पत्रकारहरुलाई ३५ थान पीपीइ हस्तान्तरण गरिएको नेपाली काँग्रेस गुल्मी–काठमाडौं सम्पर्क समिति अन्तर्गत गठित विपद् व्यवस्थापन समितिका संयोजक योगराज कंडेलले जानकारी दिए । उनले नपुग अन्य स्वास्थ सामग्री छिट्टै पठाउने बताए ।
SHARE