दलित संघ गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0
439
रमेश विश्वकर्मा
गुल्मी, जेठ ३२ :  नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघ जिल्ला कार्य समिति गुल्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा भएका जातीय विभेदको घटनाप्रति ध्यानाकर्षण जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।
नेपाल दलित संघका जिल्ला अध्यक्ष लुम बहादुर सुनार, नेपाली काँग्रेसका जिल्ला सदस्य एवम् दलित विभाग प्रमुख झविन्द्र विश्वकर्मा, दलित संघ उपाध्यक्ष शेरबहादुर विक, सचिव नविन विक, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि इस्वरी परियार लगायतका दलित नेताहरुले विभिन्न स्थानमा भएका जातीय विभेदका घटनाप्रति दोषीलाई कडा कारवाहीको माग गर्दै आईतबार प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।
ज्ञापनपत्रमा रुकुम पश्चिममा अन्तरजातीय प्रेम सम्बन्धलाई लिई भएको नरसंहारको घोर भत्र्सना गरिएको छ ।
जाजरकोटको भेरी नगरपालिका वडा नं. ४ रानागाउँका नवराज विक र रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. ८ सोतीकी सुष्मा मल्ल विच लामो समय देखि रहेको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न खोज्दा प्रेमीका सुष्मा मल्लको आमा र उनका नजिकका नातेदार वडाअध्यक्ष डम्बर बहादुर मल्ल लगायतले गरेको सांघातिक हमलाबाट नवराज विक सहित ६ जनाको निधन भएको प्रति दलित संघ गुल्मीले घोर भत्र्सना गरेको छ ।
२१ औं शताब्दीको उन्नत समाजमा पनि दलित समुदायहरु माथी देशका विभिन्न स्थानमा जातीय छुवाछुतका घटना भईरहेको नेपाल दलित संघका जिल्ला अध्यक्ष सुनारले बताए । उनले पोखराको क्रियापुत्री गृहमा भएको छुवाछुतको घटना, बुटवलमा भएको घरभाडा सम्बन्धी छुवाछुतयुक्त घटना, गुल्मीको कालीगण्डकी गाउँपालिकामा घरभित्र प्रवेशको घटना, रुकुमको नरसंहारकारी जातीय विभेदको घटना लगायत दलित समुदाय माथी भएका यस्ता घटनामा संलग्नलाई कडा कारवाहीको माग गरेका छन् ।
नेपालको संविधान र विद्यमान कानून बमोजिम घटनामा संलग्नहरुलाई हदैसम्मको कारबाही गरि पीडितलाई न्याय, क्षतिपूर्ती र सामाजीक सुरक्षाको व्यवस्था गर्न नेपाल दलित संघ गुल्मीले जोड्दार माग गरेको छ । प्रमुख जिल्ला अधिकारी शर्माले ज्ञापनपत्र बुझ्दै रुकुममा भएको घटनाले आफु अत्यन्तै दुःखी भएको बताए । त्यस घटनामा संलग्नहरुले कारवाही भोग्नु पर्ने बताए । त्यस्तै उनले आजै यो ज्ञापनपत्रलाई प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताए ।
SHARE