
जानु पाण्डे
जेठ ३१,२०७७ कपिलबस्तु : देशभर शत प्रतिशत पिसिआर जाँचको आवाज उठेको वेला कपिलवस्तुका दूई स्थानीय तहले पिसिआर अनिवार्य गरेका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका र बुद्धभुमी नगरपालिकाले आरडिटी परीक्षण रोकेर सबैलाई पिसिआर गर्ने बताएको छ । क्वारेन्टाईनमा रहेका र आइसोलेसनमा भएकाको स्वाब सङ्कलन गरी कोरोना परीक्षण हुने छ ।
आरडिटी विधिबाट परीक्षण गर्दा त्रास सिर्जना भएपछि सबैलाई पिसिआर गर्ने गरी २ पालिकाले भिटिएम समेत खरिद गरेका छन् ।
पिसिआर जाँच गरेपछि जनतामा विश्वास हुने भएकोले अनिवार्य गरिएको हो । सुरुमा केहीलाई आरडिटी विधिबाट परीक्षण गरेपनी एक साता देखी बन्द गरिएको छ । अव सबैको पिसिआरबाट परीक्षण गरिने छ । हामीले स्वाब सङ्कलनका लागी एक हजार थान भिटिएम समेत खरिद गरेका छौँ । ” शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले बताए ।
यता बुद्धभुमी नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठका अनुसार नगरपालिकाले आरडिटी परीक्षण गर्न बन्द गरेको बताए । नीतिगत निर्णय नभए पनि अव पिसिआर विधिबाट मात्र परीक्षण हुन्छ ।
पछिल्लो समयमा मिडिया र विज्ञहरूले समेत आरडिटी परीक्षण प्रश्न उठाएपछि जनतालाई विश्वास दिलाउन शत प्रतिशत पी।सी।आर। लागु गरेको श्रेष्ठले बताए ।
यता जिल्लाका थप २ स्थानीय तहले कोरोना सङ्क्रमितहरू निको भए पछि मात्र डिस्चार्ज गर्ने भएका छन् ।
समुदायमा त्रास बढ्ने भएपछि निको नहुन्जेल सम्म सङ्क्रमितलाई आइसोलेसनमा राखिने भएको छ । बाणगंगा नगरपालिका र बिजयनगर गाउँपालिकाले सङ्क्रमितलाई पिसिआर जाँच गरी नेगेटिभ आए पछि मात्र घर फर्काउने बताइएको छ ।
जिल्लाका ६ स्थानीय तहले नयाँ निर्देशिका अनुसार आइसोलेसनमा १४ दिन बसेका लक्षण नदेखिएका सङ्क्रमितलाई घर पठाई सकेका छन् । ४ स्थानीय तहले पिसीआरको रिपोर्ट नआउँदा सम्म सङ्क्रमितलाई आइसोलेसनमा राखेका छन् ।
कपिलवस्तुमा १ सय ७२ जना संयमितलाई डिस्चार्ज गरी सेल्फ आइसोलेसनमा बस्ने गरी घर पठाइएको छ । ४४ जना सङ्क्रमित रिपोर्ट नेगेटिभ आए पछि निको भई घर फर्केका थिए ।








