मन्त्रीसंग स्थानीय सरकारको गुनासो : पिसिआर रिपोर्ट ढिलाइले त्रास बढ्यो

0
406

जेठ ३१,२०७७ गुल्मी  : ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गुल्मीका क्वारेन्टाइनको अनुगमन गरेका छन् ।
मन्त्री बरालले जिल्लाका सत्यवती, कालिगण्डकी र चन्द्रकोट गाउँपालिकाका क्वारेन्टाइन र आइसोलेशन कक्षको अनुगमन गरी सरोकारवालाहरुसंग आवश्यक परामर्श गरेका हुन् ।
अनुगमनको क्रममा स्थानीय स्रोत र साधन परिचालन गरी बनाइएका क्वारेन्टाइन कक्षमा सामाजिक दुरी, शौचालय तथा क्वारेन्टाइनमा बस्ने नागरिकका समस्याका बारेमा चनाखो बन्न मन्त्री बरालले सझाव दिएका छन् ।
प्रदेशका कतिपय ठाउँहरुमा व्यवस्थित क्वारेन्टाइन नभएको तथा क्वारेन्टाइन कक्ष नै रोग सर्ने माध्यम भएकोले त्यसप्रति सचेत गराइएको मन्त्री बरालका स्वकीय सचिव यदु ज्ञवालीले जानकारी दिए ।
मन्त्रीसंग स्थानीय सरकारको गुनासो  :  पिसिआर रिपोर्ट ढिलाइले त्रास
मन्त्री बरालसँग पनि स्थानीय तहले गुनासो राखेका छन् ।
पिसिआर् रिपोर्ट आउन ढिलाई हुँदा संक्रमण फैलिने डर बढी भएको, प्रदेश सरकारबाट आवश्यक स्वास्थ्य सामग्री आउन नसकेको, पिसिआर तथा आरडिटी किट पर्याप्त हुन नसकेको जस्ता गुनासा स्थानीय सरकारले राखेका थिए ।
‘स्वाब संकलन गरेर पठाएको एक हप्तासम्म पनि पिसिआर् रिपोर्ट आउँदैन, यसले हामीलाई थप निराश बनाएको छ ।’ सत्यवती गाउँपालिकाका प्रमुख पारिश्वर ढकालले भने,
‘भए पालिकामा, नभए जिल्लामै भएपनि पिसिआर् जाँच गर्ने मेसिन उपलब्ध हुनुपर्छ ।’ ढकालले प्रदेशबाट विनियोजन हुने विकास आयोजना, अहिलेको महामारि नियन्त्रणमा प्रदेश सरकारबाट सहयोग उपलब्ध नभएको जस्ता गुनासा मन्त्री बरालसमक्ष राखेको बताए ।
मन्त्री बरालले सकेसम्म जिल्लामा र नभए प्रदेशमा थप दुईवटा पिसिआर् मेसिन थप गरी परीक्षणको दायरा बढाउन लागिएको बताए । यसो गर्दा पिसिआर रिपोर्ट छिटो आउने उनको भनाई छ ।
आवश्यक जनशक्ति तथा खर्च परिचालनको समस्याले प्रत्येक पालिकामा पिसिआर् मेसिन उपलब्ध गराउन नसकिएको उनले स्वीकार गरे । तर पालिकाको लागि आवश्यक पिसिआर तथा आरडिटी किटहरु भने प्रदेश सरकारले उपलब्ध गराउने उनले प्रतिवद्धता जनाएका छन् ।
मन्त्री बरालले समग्र गुल्मीमा क्वारेन्टाइनको अवस्था, व्यवस्थापन तथा जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणको लागि आइपरेका समस्याबारे प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मासँग छलफल गरेका थिए ।
छलफलको क्रममा जिल्लामा कोरोना रोकथामको लागि कुनै पनि हालतमा आर्थिक समस्या हुन नदिने मन्त्री बरालको प्रतिवद्धता रहेको प्रजिअ शर्माले बताए ।

SHARE