पाल्पा निस्दीका कृषकलाई मिनिटिलर

0
356

सुशीला रेग्मी

रामपुर (पाल्पा), ३० जेठ :पाल्पाको निस्दी गाउँपालिकाका कृषकलाई मिनिटिलर वितरण गरिएको छ । कृषि ज्ञानकेन्द्र पाल्पाको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत मकै पकेट क्षेत्रका कृषकलाई अनुदानमा मिनिटिलर वितरण गरिएको हो ।
गाउँपालिकाको वडा नं ४ स्थित धाक्रेदमारमा मकै पकेट क्षेत्र कार्यक्रम सुरु भएको छ । सो पकेट क्षेत्रका कृषकलाई एक कार्यक्रमका बीच १७ वटा मिनिटिलर वितरण गरिएको छ ।

पकेट समितिका संयोजक लालबहादुर सोतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिकाका उपाध्यक्ष रिताकुमारी खनाल अर्यालले मिनिटिलर वितरण गर्दै गाउँ गाउँमा आधुनिक कृषि यन्त्र भित्रिएसंगै कृषि व्यवसायमा कृषकको आकर्षण बढेको बताए । उनले उत्पादन बृद्धि गरेर आयस्रोत प्रशस्त लिने गरी व्यवसाय गर्न कृषकलाई अनुरोध गरे ।

कृषि शाखा प्रमुख खिमराज कोईरालाले पछिल्लो समय निस्दी गाउँपालिकामा व्यवसायिक कृषिमा कृषकको आकर्षण बढ्दै गइरहेको बताउँदै कृषिमा भित्रिएका नयाँ नयाँ प्रबिधिको प्रयोग गरेर कृषकले राम्रो लाभ लिन सक्ने बताए । नयाँ प्रबिधिको प्रयोगबारे जानकार नभएमा कृषि शाखाले कृषकको खेतबारीमै पुगेर सिकाउँने र कृषकका समस्या समाधानमा प्राबिधिकहरु सधै तल्लिन रहेको प्रमुख कोइरालाले बताए ।

वडा सदस्य मनप्रसाद सोती, पशु शाखा प्रमुख ओमबहादुर मश्राङ्गी, पकेट क्षेत्र समिति सदस्य लालबहादुर जर्घा लगायतले आधुनिक यन्त्रको प्रयोगबाट खेती गर्न सहज हुने भएकाले उत्पादन बृद्धि गर्नतर्फ कृषकले जोड दिनुपर्ने बताए । पकेट समितिका सदस्य ओमप्रसाद सोतीको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सदस्य शिवबहादुर राईले गरेका हुन् ।

SHARE