विमला ढकाल,
जेठ २५,२०७७ बर्दिया : बर्दियाको बढैयातालका एक युवक कोरोना जितेर डिस्चार्ज भएका छन् ।
बढैयाताल गाउँपालिका वडा नम्बर ७ का १९ बर्षीय बिराट थारु कोरोना जितेर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्ण गोपाल चौधरीले जानकारी दिए । उनी आजै दाङको राप्ती स्थास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।
उनले १५ दिनमै कोरोनालाई जितेर घर फर्किएको जनस्वास्थय निरिक्षक चौधरीले जानकारी दिए । कोरोना सङ्क्रमित युवकको दाङको राप्ती स्थास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उनी आज उपचारपछि कोरोना जितेर सकुसल घर फर्किएको बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदिले बताए ।
जेष्ठ १० गते उनमा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि दाङको राप्ती स्थास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । जेष्ठ २ गते भारतमा रोजगारी गरि घर फर्केका उनी बढैयातालको मैनापोखरमा रहेको सारदा बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा बस्दै आएका र स्वाब परिक्षणका क्रममा रिपोर्ट पोजेटिभ देखिएको थियो ।
कोरोना संक्रमित युवा १९ बर्षीय थारुले आफुले आत्मबल बलियो बनाएका कारण २ हप्तामै कोरोनालाई जित्न सफल भएको बताएका छन् । उनी भन्छन्, आत्मबल बलियो बनाउनुस्, अनात्तिनुस् संक्रमण चाडै निको हुने छ ।
यो संगै बर्दियामा कोरोना संक्रमणपछि डिस्चार्ज हुनेको संख्या ३ पुगेको छ । यसअघि बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ की ११ वर्षीय बालिका र गुलरिया नगरपालिका वडा नम्बर ११ का २८ बर्षका पुरुष पनि उपचारपछि निको भएर घर फर्किसकेका छन् ।