रामकृस्ण कंडेल
जेठ२०,२०७७ गुल्मी : कांग्रेस मुसिकोट नगर कार्यसमितिले मगंलबार मुसिकोट नगरपालिका समक्ष पार्टीको तर्फबाट ज्ञापनपत्र बुझाएको छ।
वर्तमान विषम परिस्थितिमा मुसिकोट नगरपालिका भित्रका सार्वजनिक विद्यालयहरूमा विदेश लगायत देशका विभिन्न भागहरुबाट आएका नगरवासीहरुलाइ राखिएका क्वारेन्टिन हरूको अवस्था को बारेमा जानकारी गराउँदै ज्ञापनपत्र बुझाइएको हो।
विगत केही दिन अगाडिदेखि मुसिकोट नगरपालिका भित्रका वडा नम्बर१देखि ९सम्म पार्टीका जिम्मेवार नेताहरु सम्बन्धित स्थानमै पुगी त्यहाँ बसोबास गरिरहेका नगरवासीहरुको प्रत्यक्ष अवस्था बुझेर उनीहरुले कार्यदल समक्ष व्यक्त मागहरुलाई पाटीले केन्द्रित गरी नगर पालिका समक्ष मागको रुपमा बुझाएको हो।
सबै वडा भित्र पार्टीका जिम्वेवार पदाधिकारीहरु आफै पुगी रचनात्मक सुधारको लागि छलफलपश्चात विभिन्न बुदाहरु तयार गरी क्वारेन्टिन स्थलहरूको सुधारको लागि सहयोग पुगोस् भन्ने मनसायका साथ ज्ञापनपत्र बुझाइएको हो।
नेपाली कांग्रेस मुसिकोट नगर समिति गुल्मीका सभापति शुदर्शन शाक्यद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा १०वटा बुँदाहरु समावेश गरिएको छ।
क्वारेन्टिन स्थल हरूमा पर्याप्तमात्रामा शौचालयको अभाव रहेको,शुद्ध पिउने पानी र व्यवस्थित शौचालयको आवश्यकता देखिएको,विपतको बेलामा भारतीय नाकाबाट आउने नागरिकहरूलाई निःशुल्क उद्धार नगरिएको,क्वारेन्टिन स्थलहरू अव्यवस्थित र फोहोर रहेको,फरक(फरक समयमा आएका हरुबिच सामाजिक दूरी कायम नगरिएको, अनावश्यक रुपले मानिसहरूको आवागमन भइरहेको,घरबाटै खाना ल्याएर आउनुपर्दा भीडभाड बढेको लगायतका समस्याहरु ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
अधिकांश क्वारेन्टाइनमा लामखुट्टेको समस्या रहेको,विद्युत् आपूर्ति नियमित नभएको,पर्याप्त खुला स्थानको प्रयोग भएकोले यी समस्याहरूलाई तत्काल समाधान गर्नको लागि नगरपालिका समक्ष माग गरिएको छ।
ज्ञापनपत्रमा क्वारेन्टिन स्थलमा काम गर्ने स्वयंसेवक,कुक,स्वास्थ्यकर्मी को साथै प्रत्येक वडामा रहेका क्वारेन्टिन स्थल भित्र रहनुहुने पुरुष,महिला,बच्चा सबैको लागि सुरक्षा समाग्रीको अभाव रहेको देखिएकोले उनीहरुलाई माक्स लगाएत अत्यावश्यक सामग्रीहरुको उपलब्ध गराउनको लागि माग गरिएको छ।
यसैगरी ज्ञापनपत्रमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई दैनिक खर्च वापत विनियोजन गरिएको रु२५०अत्यन्तै थोरै भएको हुनाले प्रति दिन रु ५००प्रतिव्यक्ति उपलब्ध गराउन माग गरिएको छ।न्यून वर्गीय परिवारमा देखिएको खाद्य अभाव लगायतका समस्याहरु क्रमशः मध्यमवर्गमा पनि देखिन थालेको र पहिलो चरणको राहत वितरण गरिएको लामो समय भइसकेकोले अविलम्ब दोस्रो चरणको राहत वितरण गर्न माग गरिएको छ।
अन्तिम बुदा दसौं बुदामा घर आऊन चाहाने सबैको लागि सहज यातायातको अविलम्ब व्यवस्था गर्नको लागि नगरपालिका समक्ष माग गरिएको छ।
नेपाली काँग्रेस मुसिकोट नगर समितिले यही जेठ १७,१८ र १९गते नगरपालिकाभित्र कोरोना नियन्त्रण गर्ने उद्देश्यले आगन्तुक व्यक्तिहरूको लागि निर्माण गरिएका क्वारेन्टिन स्थलहरू अनुगमन सम्पन्न गरेको हो।
मुसीकोट नगरपालिकाका नगर प्रमुख श्री सोमनाथ सापकोटालाई सम्बोधन गरी तयार गरिएको ज्ञापन पत्र नगरपालिकाको तर्फबाट प्रशासकीय अधिकृत नवराज भण्डारी लाई बुझाईएको थियो।
उक्त कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट मुसिकोट नगर सभापति सुदर्शन शाक्य, कांग्रेस गुल्मी जिल्ला सचिव विष्णु कुमारी सापकोटा,पार्टीका पूर्व गुल्मी जिल्ला सचिव हरि नारायण सापकोटा,नेपाली कांग्रेस मुसिकोट नगर छाया सरकार प्रमुख झबिलाल भन्डारी,नेपाल दलित संघका नगर सभापति दिनेश खाती,नेपाली कांग्रेस नगर सदस्य गोविन्द सापकोटा लगायतको उपस्थिति रहेको थियो
ज्ञापनपत्र बुझाउँदै मुसिकोट काँग्रेसले क्वारेन्टिनमा रहेका सबै नागरिकहरूको पिसिआर टेस्ट नभएसम्म घर नफर्काउन साथै स्थानीय सरकारलाई आवश्यक परेमा पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।