सुशीला रेग्मी
रामपुर (पाल्पा), १९ जेठ : पाल्पाको रामपुर नगरपालिकामा वडा नं ५ मा प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम सुरु गरिएको छ । सोमवार रामपुर नगरपालिका ५ को स्यानिटारी क्षेत्रमा वडा अध्यक्ष हिमाल मल्लको अध्यक्षतामा एक कार्यक्रम गरी कार्यक्रमको शुभारम्भ गरिएको छ ।
यस कार्यक्रमका लागि रामपुर नगरपालिकामा ५७ लाख रकम प्राप्त भएको छ । काम नपाएर समस्यामा परेका युवालाई छनौट गरी नगरले बिशेषगरी सडक निर्माणको काममा प्राथमिकता दिएको कार्यक्रमका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले बताए ।
बेरोजगार युवालाई रोजगार दिन यो कार्यक्रम संचालन गरिएको हो । काम नपाएर बेरोजगार भएर घरमै बसेका युवाहरु आफ्नो गाउँ ठाउँमा काम गर्न पाउँदा खुशी छन् ।
नगरपालिकाले कोरनाका कहरले यो वर्ष निवेदन खुलाउन नसकेको र गतवर्ष आवेदन दिएका युवालाई छनौट गरी काममा लगाएको छ । नगरका दशवटै वडामा एक एक वटा योजना सुचारु गरी २५ देखि ३० जना युवा परिचालन गरिएको प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम नगर संयोजक निरज पोखरेलले बताए ।
वडाका २९ जना युवा छनौट गरी गौकटुवा देखि स्यानीटारी हुदै गौडाहान जोड्ने सडकको स्तरोन्नती कार्य सुरु भएको छ । शुभारम्भ कार्यक्रमको संचालन वडा सचिव महेशप्रसाद भट्टराईले गरेका हुन् ।
रामपुर नगरपालिकाको वडा नं ६ र ८ मा पनि कार्यक्रम सुभारम्भ गरी संचालन गरिएको छ । कोरनाको कहरले विभिन्न क्षेत्रमा मजदुरी गर्ने श्रमिकहरु काम गर्न नपाएर हैरानीमा परेका बेला प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रममार्फत नगरपालिकाले काम दिएपछि सजिलो भएको छ । वडागत रुपमा रु चार लाख रकम विनियोजन गरेको नगरले योजना हेरेर आवश्यकता अनुसार रकम थप गर्ने नगरपालिकाले जनाएको छ ।