पुलमा बार लगाएपछि तरकारी बिक्रि गर्न समस्या

0
416

सुशीला रेग्मी

रामपुर (पाल्पा) १७ जेठ  :  कोरना भाइरस सङ्क्रमणको जोखिम परिस्थितीलाई मध्यनजर गर्दै कालीगण्डकी वारपार गर्ने पुलमा  बार लगाएपछि कृषकलाई तरकारी बिक्रि गर्न समस्या परेको छ ।

पाल्पाको बगनासकाली गाउँपालिका ६ दर्पुक र स्याङ्गजाको कालीगण्डकी गाउँपालिका बेल्टारी जोड्ने झोलुङ्गे पुलमा आवजावत निषेधका लागि बार लगाइएको छ । पुलमा बार लगाएपछि तरकारी बिक्रि गर्न जान नपाएको दर्पुकका कृषक शिवप्रसाद अधिकारीले गुनासो गरे ।

उनका अनुसार“हाम्रो व्यापार गर्ने ठाउँ स्याङ्गजाको बेल्टारी, जैपते हो, अन्यत्र जान भन्दा त्यही जान नजिक र मुल्य पनि राम्रो पाइन्थ्यो, अहिले पुलमा बार लगाएपछि तरकारी बिक्रि गर्न जान पाइएको छैन” ।

विकल्पका लागि राम्दी बजार रहेपनि आउन जान पायक नपर्ने र मुल्य पनि नपाउँने हुदा बिक्रि गर्न तयार भएका तरकारी घरमै राख्न बाध्य भएको उनी बताउँछन् । करिव ८० किलो गोलभेँडा, २० किलो काक्रा र २० किलो बढी अन्य तरकारी बेच्न तयारी अवस्थामा रहेपनि बिक्रि गर्न लैजान नपाउँदा अप्ठ्यारो परेको छ ।

वर्षमा करिव तीन लाख ५० हजार कमाई गर्ने अधिकारीले यसवर्ष असिनापानी, बन्दाबन्दीले गर्दा करिव तीन लाख बराबरको नोक्सान हुने उनको अनुमान छ । बजार सहज भएको खण्डमा करिव ४० रोपनी क्षेत्रफलमा तरकारी खेती गर्ने तयारी गरेका छन् ।

सात वर्ष अघि देखि तरकारी खेतीमा आबद्ध अधिकारीले बिगत दुई वर्ष यता बोइलर कुखुरापालन पनि सुरु गरेका छन् । सहज रुपमा तरकारी बिक्रि गर्ने वातावरण मिलाइदिन सम्बन्धित निकाय संग उनको अनुरोध छ ।

त्यस्तै बगनासकाली वडा नं ४ खानिछाँपका कृषक नेत्रलाल अधिकारीले घरमा उत्पादन गरेको तरकारी स्याङ्गजाको गल्याङ्ग बजारमा बिक्रि गर्छनन् । तरकारी सो बजारमा लैजान नपाएपछि यस पटक व्यवसायमा लगानी कम गर्न थालेका छन्

“तरकारी बजार लिएर जान नपाएपछि मल सिंचाई, गोडमेल, विषादीमा खर्च गर्न छाडेको छुु, मुल्य पाइने र पायक पर्ने स्थानमा बिक्रि गर्न नपाएपछि कुहाएर फाल्नुपर्ने अवस्था आउन थालेकाले लगानी नै कम गर्न थालेको छु” अधिकारीले भने ।

गाउँघरमा अहिले उत्पादन भएको तरकारी झट्ट बिक्रि गर्न नपाउँदा केही कृषकले खेतबारीमै कुहाउन बाध्य छन् । बिशेषगरी सिमाना जोडिएका क्षेत्रका कृषकलाई आतजावतमा कडाई गरेपछि बिक्रि गर्न समस्या परेको छ ।

बजारको पहुँचमा नरहेका कृषकलाई सवारी साधन नचल्दा तरकारी बिक्रि गर्न सकस परेको छ । रामपुर, रम्भा, तानसेन र बगनासकाली लगायतका क्षेत्रमा कृषि एम्बुलेन्समार्फत तरकारी सङ्कलन कार्य भएको छ । पायक नपर्ने, सडक देखि भित्रि गाउँमा बसेका कृषकलाई उत्पादित तरकारी बजारमा खपत गराउन भने समस्या परेको छ ।

SHARE