मदानेमा कोरोना नियन्त्रण र रोकथाममा साढे ५६ लाख खर्च, राहत वितरणमै झण्डै ५० लाख

0
592

टोपलाल अर्याल
गुल्मी, १५ जेठ :मदाने गाउँपालिकाले कोरोना नियन्त्रण र रोकथामको लागि अहिलेसम्म करिव साढे ५६ लाख खर्च गरेको छ ।
गाउँपालिकाले राहत, क्वारेन्टाइन निर्माण तथा व्यावस्थापन, औषधी उपचार र मजदुरको उद्धारमा ५६ लाख ४८ हजार चार सय ६० रुपैयाँ खर्च गरेको सूचना अधिकारी क्रृषिराम पोख्रेलले जानकारी दिए ।
सवैभन्दा बढि रकम राहत वितरणमा खर्च भएको छ । गाउँपालिकाका सात वडामा दुई चरणमा राहत वितरण गर्दा ४९ लाख ८८ हजार नौ सय १० रुयैयाँ खर्च भएको पोख्रेलले बताए । गाउँपालिकाले प्रति परिवार ३० किलो चामल, तीन किलो दाल, दुई किलो नुन, एक किलो चिनी, दुई लिटर तेल र चार वटा सावुन वितरण गरेको थियो ।
उनले पहिलो चरणमा आठ सय १७ र दोस्रो चरणमा १३ सय २७ गरेर २१ सय ४४ बिपन्न परिवारलाई राहत वितरण गरिएको बताए । जसबाट नौ हजार ४६ जना लाभाम्बित भएका छन् । त्यस्तै क्वारेन्टाइन निर्माण र व्यावस्थापनमा करिव चार लाख खर्च भएको छ । क्वारेन्टाइन निर्माणमा तीन लाख ५५ हजार दुई सय ५० र व्यावस्थापनमा ४१ हजार अहिलेसम्म खर्च गरिएको छ ।
गाउँपालिकाले नौ बिद्यालयमा क्वारेन्टाइन स्थापना गरेको छ । क्वारेन्टाइनका लागि आवश्यक वेड, ब्लाङकेट, सिरक डसना, तन्ना, सिरानी, प्रिफम र खाट निर्माण तथा खरिद गर्न र बसेकाहरुको खानाका लागि रकम खर्च भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।
साथै स्वास्थ्य सामग्री खरिदमा पनि मदाने गाउँपालिकाले २१ लाख तीन हजार तीन सय खर्च गरेको छ । पिपिई खरिदमा ६२ हजार पाँच सय, थर्मल गन खरिदमा ६५ हजार, सेनिटाइजर खरिदमा ४५ हजार, मास्क खरिदमा ३० हजार र पंजा खरिदमा १० हजार आठ सय खर्च भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । भने मजदुरहरुको उद्धार गर्दा ७० हजार खर्च भएको छ ।

SHARE