सुशीला रेग्मी
जेठ १०, रामपुर (पाल्पा) :पाल्पाको रामपुर नगरपालिकाले कृषि एम्बुलेन्स सेवा सुरु गरेको छ । शनिवार देखि सेवा शुभारम्भ गरी कृषकको घर घरमा पुगेर तरकारी सङ्कलन गरेर उपभोक्तामाझ पु¥याएको छ ।
नगर प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपानेको नेतृत्वमा निमिक्त प्रमुख प्रशासकिय अधिकृत रामहरी पाण्डेय, कृषि प्राबिधिकहरु प्रज्ज्वल केसी र सुशील अधिकारी, विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष सूर्यप्रसाद रेग्मी, पत्रकार सहितको टोलीले कृषकको घर घरमा पुगेर तरकारी सङ्कलन गर्ने र उपभोक्तामाझ बिक्रि गरेको छ ।
पहिलो दिन शनिवार बिहान ७ वजे रामपुर नगरपालिका ७ स्थित बहखोला हुदै आधारभुत चोक वडा नं ६ को विजयपुर कृषि सहकारीको भवन, मिलनचोक हुदै वडा नं ५ को मटेरी ठुलोटार, बेझाड हुदै कृषि शाखा कार्यालय सम्म एम्बुलेन्समा तरकारी खरिद बिक्रि गर्ने कार्य भएको छ ।
कृषकका खेतबारीमा लगाइएका तरकारी बिक्रि गर्न समस्या परेकाले सहज रुपमा व्यवस्थापन गर्न र उपभोक्तालाई ताजा ताजा तरकारी पु¥याउने उद्धेश्यले कृषि एम्बुलेन्स सेवा सुरु गरेको संयोजक न्यौपानेले बताए । विजयपुर कृषि सहकारीको समन्वयमा कृषि एम्बुलेन्स सेवा सुरु गरिएको हो ।
पहिलो दिन शनिवार साढे आठ क्वीन्टल तरकारी सङ्कलन भएको छ । चार क्वीन्टल करेला, एक क्वीन्टल नौ किलो काक्रो, एक क्वीन्टल २२ किलो घिरौला, १३ किलो लौका, २९ किलो बोडी, २६ किलो खुर्सानी, २१ किलो सिमि, ६ किलो भिन्डी, ६९ किलो बन्दा, ४१ किलो गोलभेँडा, २ किलो चिचिन्डा सङ्कलन गरिएको निमिक्त प्रमुख प्रशासकिय अधिकृत रामहरी पाण्डेयले जानकारी दिए ।
नगरपालिकाले तोकेको मुल्यमा खरिद बिक्रि गरिएको पाण्डेयले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले सिमिको खरिद मुल्य ३५, बिक्रि मुल्य ४५, खुर्सानी खरिद मुल्य ८० बिक्रि मुल्य एक सय, घिरौला खरिद मुल्य ३५ बिक्रि मुल्य ४५, बन्दा ५ मा खरिद गरेर ८ मा बिक्रि गर्ने मुल्य निर्धार गरेको छ ।
त्यस्तै करेला खरिद मुल्य ४० बिक्रि ५०, काक्रा खरिद मुल्य ४० बिक्रि ५०, लौका खरिद मुल्य ३० बिक्रि मुल्य ४०, साग खरिद मुल्य १० बिक्रि मुल्य १५, चिचिन्डा खरिद मुल्य ४० बिक्रि मुल्य ५०, भिन्डी खरिद मुल्य ५० बिक्रि मुल्य ६०, गोलभेँडा ४० मा खरिद गरेर ५० मा बिक्रि, भण्टा खरिद ५० बिक्रि ६०, तने बोडी खरिद ६० बिक्रि ८० मुल्य कायम गरिएको छ ।
लकडाउनले तरकारी बिक्रि गर्न बजारमा नपाएर हैरानी खेपेका कृषकहरु नगरपालिकाले कृषि एम्बुलेन्समार्फत घर घरमा आएर तरकारी उठाएर लगेपछि उत्साहित भएका छन् ।
हप्तामा तीन दिन शनिवार, सोमवार र बुधवार बिहान कृषकको घर घरमा पुगेर तरकारी सङ्कलन गर्ने र उपभोक्ता माझ लगिने भएको छ । स्थानीय प्रशासनले दिएको सवारी पासले तरकारी बिक्रि गर्न जान नपाएपछि बिक्रिको समस्या झेल्नुभएका विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष सूर्यप्रसाद रेग्मीले कृषि एम्बुलेन्समा ४१ किलो गोलभेँडा, १३ किलो काक्रा बेच्नु भएको छ । कृषि एम्बुलेन्स सेवाले तरकारी उत्पादक कृषकलाई सहज भएको उनले बताए ।
“खेतबारीमा तरकारी टिप्ने बेला भइसक्यो, बजारमा बिक्रि गर्न जान समस्या थियो, ठाउँ ठाउँमा सुरक्षाकर्मीले जान रोक लगाएपछि पिरलो परेका बेला नगरपालिकाले कृषि एम्बुलेन्स सेवा सुरु गरेर कृषकलाई ठुलो राहत पुगेको बताए ।
बाहिरबाट ठुलो परिमाणमा रामपुर बजारमा तरकारी भित्रने गरेको थियो । लकडाउन जारी उपभोक्ताले तरकारी खरिद गर्न सास्ती खेप्नु परेको अवस्था थियो । यसरी घर घरमा तरकारी बिक्रिका लागि ल्याएपछि उपभोक्तालाई तरकारी खरिद गर्ने समस्या हटेको छ ।