सुशीला रेग्मी
रामपुर (पाल्पा) १० जेठ : वर्षेनी मह बेचेर राम्रो कमाई गर्ने पाल्पा बगनासकाली गाउँपालिका ८ बस्ने पशुपती बस्यालले यस पटक भने जारी बन्दाबन्दीका कारण मह बिक्रि गर्न पाएका छैनन । उत्पादित करिव पाँच सय किलो मह फर्ममा नै रोकिए पछि कहिले बन्दाबन्दी खुल्छ भन्ने चिन्ताले उनलाई सताएको छ ।
हिमाली बि कन्ट्रक्सन फार्म दर्ता गरी विसं २०५२ सालदेखि बस्यालले व्यवसायीक रुपमा मौरीपालन गर्दै आइका छन् उनकोको फार्ममा हाल तीन सय ८८ आधुनिक घार छ । यी घारबाट वर्षमा करिब आठदेखि दश क्वीन्टलसम्म मह उत्पादन हुन्छ ।
“उत्पादित मह बेच्न पाइएको छैन, बन्दाबन्दी कहिलेसम्म हुने हो निश्चित छैन, न घार बिक्छ न मह नै, हामी व्यवसायी मारमा परेका छौँ” – बस्यालले गुनासो पोखे ।
बजारमा हाल प्रतिकिलो रु ८०० मा मह बिक्रि हुने गरेको छ । यहाँ उत्पादित मह र घार पाल्पा, स्याङ्गजा, तनहुँ, नवलपुर, अर्घाखाँची, गुल्मी, रुपन्देही, सल्यान, रुकुम, गोरखा लगायतका जिल्लामा खपत हुदै आएको छ ।
बस्यालले वर्षमा खाली र गोलासहित दुई हजार पाँच सय घार बिक्रि गर्नुहुन्छ । बन्दाबन्दीले उत्पादित मह र गोला नबिक्दा व्यवसायीलाई फार्म सञ्चालन गर्न समस्या परेको भनाई छ ।
“गाउँपालिकाले दिएको पासले सवारी साधनमा लिएर अन्यत्र बिक्रि गर्न जान पाइएन, राज्यले मुख्य स्रोत कृषि भन्ने तर कृषकलाई कृषि उत्पादन बिक्रि गर्न जाने सहज वातावरण नबनाउँदा समस्या परिरहेको बस्यालले बताए ।
सवारी साधनमा बिक्रिका लागि लगिएको मह बीच बाटोबाटै सुरक्षाकर्मीले जान नदिएपछि पुनः फार्ममा नै फर्काएर राख्नु परेको बस्यालको गुनासो छ ।
उनले दुई पटक सम्म गाउँपालिकाले उपलब्ध गराएको सवारी पास लिएर विभिन्न ठाउँमा मह लिएर गऐ तर सो पासले जान नदिएर फर्किनु परेको बताउनुभयो । बस्यालले चार जना कामदार राखेर व्यवसाय चलाएका छन् ।
बगनासकाली गाउँपालिका क्षेत्रमा मात्र व्यवसायिक रुपमा मौरीपालन गर्ने कृषक २० जना छन् । गाउँपालिकालाई मौरी गाउँका रुपमा विकास गर्ने गरी ७५ प्रतिशत कृषकको घरमा कम्तिमा एक घार मौरीपालन गरिएको कृषि शाखा प्रमुख राजेश बोहरा बताएका छन् ।
यहाँको वडा नं १ चिर्तुङ्गधारा, ७ को खानिगाउँ, ८ को बराङ्गदी क्षेत्र मौरीको पकेट क्षेत्र हुन् । यसवर्ष गाउँ कार्यपालिकाको पाँचौ गाउँसभाबाट स्वीकृत कृषि कार्यक्रम अन्तर्गत मौरी गोला, खाली मौरीघार, मौरीजन्य सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । जसअन्तर्गत २३ वटा मौरी गोलाघार, ४२ वटा खाली घार लगायत मौरीजन्य सामग्री वितरण गरिएको हो ।
मागका आधारमा आएका निवेदनमध्ये विभिन्न मापदण्डका आधारमा कृषकलाई मौरीघार, घारसहित मौरीगोला लगायत अन्य मौरीजन्य सामग्री वितरण गरिएको छ । मौरीजन्य सामग्रीमा मह प्रशोधन गर्ने महमदानी, आधार चाका वितरण गरिएको छ ।
बगनासकालीलाई मौरी गाउँका रूपमा चिनाउन विगतका वर्षदेखि नै मौरी सम्बन्धि विभिन्न अनुदानका कार्यक्रम मार्फत कृषकलाई मौरी पेशाप्रति ंसंलग्न हुन प्रेरित गरिरहेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल बताउछन् ।
मौरीघार बिक्रि गरेर वर्षमा रु दश लाख बराबरको कमाई गर्ने रामपुर नगरपालिका ६ स्थित न्यौपाने मौरी उद्योगमा यसवर्ष बिक्रि गर्न तयारी अवस्थामा रहेका गोलासहित ६० घार र खाली घार एक सय ५० छन् । बन्दाबन्दीको असरले बिक्रि नहुदा करिव दश लाख जति नोक्सान हुने अनुमान गरिएको सञ्चालक हुमनाथ न्यौपाने बताउछन् ।
“गोलासहित घार बेच्ने भनेर मह उत्पादन कम गरियो, गोला छुट्टाएर अन्यत्र घारमा सारेपछि मह लाग्दैन, गोला सहितको घार बन्दाबन्दीले खरिद गर्न कोही आउँदैनन्” न्यौपानेले भने ।
गोलासहित र खाली घारमा मात्र करिव १२ लाखको लगानी परेको छ । गोलासहित आठ हजार तीन सय र खाली घार चार हजार पाँच सयमा बिक्रि हुने गरेको छ । यस उद्योगमा पाँच जनाले रोजगार पाएका थिए तर अहिले बन्दाबन्दी भएपछि उनीहरु घर फर्किएका छन् ।
रामपुर नगरपालिका क्षेत्रमा हाल व्यवसायीक तवरले मौरीपालन गर्ने कृषक २० जना रहेकामध्ये कम्तिमा पाँच देखि बढीमा ५० घार सम्म व्यवसाय गर्ने रहेको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताए ।
यसवर्ष शाखा कार्यालयबाट मौरीपालन सम्बन्धि कार्यक्रम समेटिएको छैन । तर वडा नं १ मा वडाको वजेटमा अनुदानमा मौरीघार वितरण गर्ने कार्यक्रम भने तय गरिएको छ । नगरको वडा नं १, २ र ७ को माथिल्लो भेग मौरीपालनका लागि उपयुक्त क्षेत्र हुन् ।
जिल्लाकै निस्दी गाउँपालिकामा पनि पछिल्लो समय मौरीपालन व्यवसायमा कृषक आकर्षित हुदै गएका छन् । मौरीपालन व्यवसायमा आकर्षित हुदै गरेका यहाँका कृषक घार खरिद गर्ने वातावरण नभएपछि व्यवसायमा निरासिएका छन् ।
तीन वर्ष देखि यस व्यवसायमा लाग्नुभएका निस्दी गाउँपालिका ६ अर्चलेका कृषक ठाकुर सिङ्जालीले व्यवसाय बिस्तार गर्न २० घार थप्ने योजना बनाए । तर घार खरिद गरेर ल्याउन नपाएको गुनासो गर्छन । उहाँको फार्ममा हाल २२ आधुनिक घार छन् । वर्षमा ६० हजारको मह बिक्रि गर्छन ।
गाउँपालिकाको वडा नं २ सहलकोटमा १३, वडा नं ३ को झिरुवासमा सात जना, ५ को गल्धामा पाँच र ६ को अर्चलेमा दुई जना कृषकले व्यवसायिक तवरबाट मौरीपालनमा लागेको कृषि शाखा प्रमुख खिमराज कोइराला बताउछन् ।
डाँडाभेग क्षेत्र मौरीपालनका लागि सम्भावना बोकेको हुदा पछिल्लो समय यहाँका कृषक उत्साहका साथ व्यवसायमा लागेको अवस्थामा घार खरिद गरेर घरमा ल्याउन नपाएपछि चिन्तामा रहेको कोइरालाको भनाई छ ।
मह र घार बिक्रि गरेर कृषकले राम्रो कमाउन सकिने र स्थानीय तहले अनुदानमा घार उपलब्ध गराउन थालेपछि जिल्लामा मौरीपालन व्यवसायमा कृषकको आकर्षण बढ्दो रहेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउछन् ।
मह र घार बिक्रिको समस्याका सम्बन्धमा भने आफुसँग जानकारी नआएको उनँले बताए । मह झट्ट नबिग्रने हुदा केही समय फार्ममा नै रहेपनि आत्तिनु नपर्ने र गोला बिक्रिका लागि मौरी घारमा छुट्टाएका व्यवसायीलाई भने न मह उत्पादन न घार बिक्रि हुने चिन्ताले पिरोलेको छ ।