जेठ ६,२०७७ गुल्मी : जिल्लाको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङमा भएको जातिय छुवाछुतको मुद्धा जिल्ला प्रहरी कार्यालय गुल्मीमा दर्ता भएको छ ।
पीडित परिवारले जिल्लाका दलित संघ–संस्थाको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिएका थिए । मंगलबार मुद्धा दर्ता गरेर आवश्यक प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।
गत बैशाख २२ गते मलामी गएर फर्किएका २७ बर्षीय श्याम बहादुर परियार ठूलो पानीको कारण ओत लाग्न स्थानीय ४३ बर्षीय नेत्र काउछाको घरमा पसेका थिए । घरधनी काउछा सहितका स्थानीयले मगरको घरमा दलित पसेपछि पवित्र बनाउन पुजापाठ गराउन भन्दै १५ सय जरिवाना गरेपछि जिल्लामा तरङ फैलिएको छ ।
कानुन अनुसार जरिवाना गर्ने, कुटपीटको प्रयास गर्ने कार्य जातीय भेदभाव तथा छुवाछुत कसुर ऐन विपरित र गम्भीर मानव अधिकार उल्ङघनको घटना भएको भन्दै दलित साझा मञ्च, नेपाल दलित मुक्ति संगठन, नेपाल दलित संघ, दलित महिला संघ, परियार समाज, इन्सेक र मानव अधिकार तथा सामाजिक रुपान्तरण लगायतका दोषीलाई कडा कारबाहीको माग गरेका थिए ।
दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्माले पहिले पनि त्यो क्षेत्रमा जातिय छुवाछुतका घटना भइरहेकाले अब सम्झौता गर्न नसकिने बताए ।