जेठ १, २०७७ पर्वत : पर्वतको जलजला गाउँपालिकामा चितुवाको आक्रमणबाट स्थानीय दुई व्यक्ति घाइते भएका छन्। घाइते हुनेमा गाउँपालिका ८ नाग्लिवाङका अन्दाजी ५६ वर्षीय गोविन्दबहादुर केसी र उनलाई बचाउन गएका ३४ वर्षीय कृष्ण परियार छन्।
बिहीबार दिउँसो झन्डै साढे ३ बजे खेतमा काम गरिरहेका केसीलाई चितुवाले आक्रमण गरेको थियो। आक्रमणबाट केसीको घाँटी र हातमा चोट लागेको छ भने परियारको हातमा चोट लागेको छ।
घाइते दुवै जनालाई उपचारको लागि धौलागिरि अञ्चल अस्पताल बागलुङ लगिएको छ। आक्रमणकारी चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर जिल्ला वन कार्यालय पर्वतको खोरमा राखिएको छ।
जिल्लामा बाघ तथा चितुवाको आक्रमणबाट पशु चौपायादेखि मान्छेमाथि नै गम्भीर क्षति हुने घटना बढ्न थालेका छन्।