रमेश विश्वकर्मा
गुल्मी, वैशाख ३१ : जिल्लाका सबै सिमाहरुमा आवतजावत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । प्रदेश नं. ५ अन्तर्गतका जिल्लाहरुमा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको उच्च जोखिम देखिएकोले जिल्लाका सिमाहरुमा पनि जेठ १ गते (बिहिवार) देखि जेठ ५ गते मध्यरातसम्म मानिसहरुको आवतजावतमा पूर्णरुपमा बन्द गर्ने निर्णय भएको हो ।
बुधवार जिल्लाको सदरमुकाम तम्घासमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा पनि कोरोना भाईरस (कोभिड–१९) संक्रमण हुन सक्ने सम्भावना देखिएको हुँदा रोगको संक्रमण रोकथामको लागि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
उनले एम्बुलेन्स, शव वाहन, मृत्युसंस्कार, विद्युत, संचार, खानेपानी औषधी र इन्धनको सवारी वाहेक अन्य सबै प्रकारका सवारी साधनहरुको आवागमन पूर्णरुपमा निषेध गर्ने निर्णय भएको बताए ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३), संक्रामक रोग ऐन २०२० को दफा २(२) तथा नेपाल सरकार मन्त्रीपरिषदकाे बैशाख २४ गते बसेको बैठकको निर्णय नं ६ बमोजिम जिल्लाका सिमाहरु बन्द गर्ने निर्णय गरिएको बताईएको छ ।
सर्वसाधारण नागरिकहरु विरामी भएको अवस्था बाहेक अन्य अबस्थामा घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ । त्यस्तै सहकारी तथा वित्तिय संस्थाहरु पनि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको बताईएको छ ।
अत्यावश्यक दैनिक उपभोग्य बस्तहरु (इन्धन, दाल चामल,तेल, नुन, दुधडेरी, तरकारी तथा फलफुल) का पसलहरुमा अनिवार्य रुपमा हात धुनको साबुन पानी र सामाजिक दुरी कायम गर्ने गरी प्रत्येक दिन विहान ११ बजेदेखी दिउँसो १ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
उनका अनुसार अस्पताल, स्वास्थ्य संस्था, औषधी पसलहरु र पेट्रोल पम्प २४ सैं घण्टा सञ्चालनमा रहनेछन् । बैठकका निर्णयहरुको पालना नगर्नेलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने बताईएको छ ।