सुशीला रेग्मी
रामपुर, २७ वैशाख ः कोरनाको कहरका कारण रोकिएको कयन–रानीबास, रानीबास—कोटथर खानेपानी आयोजना पुनः सुचारु भएको छ ।
कोभिड—१९ को जोखिम सङ्क्रमणबाट बच्न गरिएको बन्दाबन्दीले पाल्पाको रम्भा गाउँपालिका २ मा संचालन भएको यस आयोजनाको काम रोकिएको थियो । बन्दाबन्दी भएपछि पाईप बिच्छाउने, पुर्ने, ट्याङ्की निर्माण गर्ने, वितरण प्रणालीको पाईप खन्ने जस्ता काम रोकिएको हो ।
स्थानीय कामदार व्यवस्थापन गरी बन्दाबन्दीको पालना गर्दै पानी सङ्कलनका लागि ट्याङ्की निर्माणको काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र पाँडे मगरले बताउनुभयो ।
“बन्दाबन्दी कहिले सम्म हुने हो, आयोजना निर्माण बीचमै अलपत्र हुदा स्थानीयले खानेपानीमा सास्ती खेप्नु परेको छ, स्थानीय कामदार बोलाएर आयोजना पुनः सुचारु गरेका छौँ” अध्यक्ष मगरले भन्नुभयो ।
गाउँका सबैका घर—घरमा खानेपानीको पहुँच पु¥याउन ‘एक घर एक धारा’ अभियान कार्यक्रम अन्र्तगत आयोजनाका लागि यस आर्थिक वर्षमा गाउँपालिकाले रु नौ लाख रकम विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउनुहुन्छ ।
आयोजना सम्पन्न गर्न यहाँका स्थानीय उपभोक्ताबाट रु चार लाख रकम सङ्कलन भएको छ । यस आयोजनाबाट कोटथर गाउँ सहित वडा कार्यालय गरी ५९ घरधुरीका करिव पाँच सय स्थानीय लाभान्वित हुनेछन् ।
माथिल्लो भेगमा मानिसको बसोबास रहेको हुदा वस्ती देखि तलबाट लिफ्टिङ गरेर गाउँमा पानी लगिने भएको छ । खानेपानीको अभाव झेल्दै आएका यहाँका स्थानीयलाई २० हजार लिटर क्षमताको ट्याङ्की निर्माण भई घर घरमा पानी पुगेपछि धेरै सुबिधा पुग्नेछ ।
आयोजना संचालनका लागि वडा कार्यलयबाट आवश्यक सहयोग र समन्वय गरिएको र छिट्टै नै सम्पन्न गरी घर घरमा पानी लैजाने वडा अध्यक्ष उमानसिं सारुले बताउनुभयो । यस आयोजनाबाट ७२ मिटर उचाई र सात सय ७० मिटर टाढा रहेको कोटथरको भूयारथान सम्म पानी लैजाने योजना छ