प्रशासन र अन्तर–स्थानीय तहबीच समन्वयको अभाव , नागरिक मर्कामा

0
461

हुमाकान्त पोखरेल

२३ वैशाख :‘गाउँमा मुटुरोग लागेको बिरामीलाई समेत जिल्लाका एम्बुलेन्सले विभिन्न बाहाना बनाएर अस्पताल लैजान मानेनन ।’ धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित खहरे स्वास्थ्य चौकीका प्रमुख अर्जुन भण्डारीले भने, ‘एम्बुलेन्सकै कारणले बिरामीको ज्यान गए त्यसको जिम्मेवारी कसले लिन्छ ?’ त्यसका साथै उनले अन्य रोगका बिरामीहरुलाई पनि एम्बुलेन्सहरुले सम्बन्धित अस्पतालमा लैजान नमानेको गुनासो गरे ।

यसो गर्दा मानिसहरु कोरोनाभन्दा पनि अन्य रोगका कारणले मृत्युको मुखमा पर्ने उनले गुनासो गरे । आइतबार जिल्ला समन्वय समितिले धुर्कोट र मदाने गाउँपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणको लागि भइरहेका प्रयासबारे जानकारी लिन अन्तरक्रिया गरेको थियो । अनुगमनकै क्रममा भएको अन्तरक्रियामा कर्मचारी तथा जनप्रतिनिधिले प्रदेश सासंद, समन्वय प्रमुख, उपप्रमुख लगायतसमक्ष गुनासो राखेका थिए ।
प्रशासन र स्थानीय तहबीच समन्वय हुन नसकेको, अन्तर स्थानीय तहबीच समन्वय हुन नसकेको, प्रदेश सरकारबाट अपेक्षित सहयोग हुन नसकेको, स्वास्थ्यकर्मीको प्रोत्साहन भत्ता जस्ता बिषयमा गुनासा राखेका थिए । ‘अन्तर–स्थानीय तहबीच समन्वयको अभाव भयो, पहिले नै सबै स्थानीय तहले प्रकारको समाधानको तरिका अपनाउन पाएको भए राम्रो हुन्थ्यो ।’ धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले भने, ‘स्थानीय तहबीच सरकारपिच्छेका फरक–फरक नियम भए ।’ त्यसका साथै उनले प्रदेश सरकारले स्थानीय र संघिय सरकारसँग समन्वय गर्न नसकेको, आवश्यक मात्रामा क्वारेन्टाइन कक्ष बनाउन नसकेको, संघिय र प्रदेश सरकार मातहतका कार्यालयहरुबीच समन्वय हुन नसकेको जस्ता गुनासा सासंद र समन्वय समितिसमक्ष गुनासा राखेका थिए । गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले बुटबल, काठमाडौं लगायतका स्थानबाट मानिसहरु ल्याउन विरोधासपूर्ण दबाव आउने गरेको बताए । तर त्यसरी मानिसहरु ल्याउनमा प्रशासन कार्यालय जिम्मेवार नहुने, आएकाहरु क्वारेन्टाइनमा बस्न नमान्ने जस्ता समस्या देखा परेको बताए ।
मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले नागरिकले क्वारेन्टाइनको अर्थ बुझ्न नसकेको बताए । ‘क्वारेन्टाइनलाई सजायको रुपमा अर्थाइएको पाइन्छ ।’ उनले भने, ‘जसले गर्दा बाहिरबाट आउनेहरुलाई उचित व्यवस्थापन गर्न सकिएको छैन ।’ त्यसका साथै उनले जिल्ला प्रशासन कार्यालय तथा छिमेकी गाउँपालिकाहरुबीच समयमै आवश्यक समन्वय हुन नसक्दा समस्या झन बल्झिदै जान सक्ने खतरा भएको बताए । तर अझै पनि केहि समय रहेकोले समन्वय समिति र जिल्ला प्रशासनले आवश्वय भूमिका निर्वाह गरी खतराबाट मुक्त गर्न उनले सुझाए ।

क्वारेन्टाइन कक्षमा सुधार गर्नुपर्ने
प्रदेश सासंद दिनेश पन्थीले न्यायोचित राहत वितरण, विकासमा दलिय सहभागिता, विकास कामलाई तिब्रता लगायतका सबै विषयवस्तुलाई ध्यान दिन स्थानीय तहलाई आग्रह गरे । देशमा आइपर्ने यस्ता विपत्तिलाई सबै मिलेर सामना गर्नुपर्नेमा उनले जोड दिए । स्वास्थ्यकर्मीको लागि आवश्यक स्वास्थ्य सामग्री, माक्स, सेनिटाइजर लगायतका सामग्री जुटाउनमा आफुले पहल गर्ने बताए । नागरिकलाई कोरोनाबाहेकका रोग र भोकले मर्न नदिन सबै एकजुट हुनुर्नेमा उनले जोड दिए । जिल्ला समन्वय समिति प्रमुख लक्षमण पराजुलीले अहिले निर्माण भइरहेका क्वारेन्टाइन कक्षमा सुधार हुनुपर्ने बताए ।
कोरोना संक्रमण जति समय पनि हुनसक्ने भएकोले क्वारेन्टाइन कक्ष सधैभरी विद्यालयमा रहन नहुने उनले बताए । ‘अहिले विद्यालयमा बनाइएका क्वारेन्टाइन स्थायी हुन सक्दैनन ।’ उनले भने, ‘नजिकैको स्वास्थ्य चौकीमा व्यवस्थापन गर्नुपर्छ ।’ त्यसका साथै उनले एम्बुलेन्सको विषय समाधान गर्न आफुले पहल गर्ने बताए । जिल्लामा १० ओटा एम्बुलेन्स तयारी अवस्थामा रहेकोले कोहि पनि बिरामी बोक्नबाट उम्किन नपाउने बताए ।

SHARE