क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई आत्मनिर्भर बन्न स्वरोजगार अभियान संचालन

0
469

विमला ढकाल,

बर्दिया, बैशाख २१  : लकडाउन लम्बिदै गएपछि बर्दियाको ठाकुरबाबा नगरपालिकाले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई आत्मनिर्भर बन्न स्वरोजगार अभियान संचालन गरेको छ । स्वरोजगार बन्न अभिप्रेरीत गर्ने उद्देश्यले उक्त अभियान संचालन गरिएको हो ।
कोरोना भाइरसको महामारीका बेला भारत तथा स्वदेशकै बिभिन्न स्थानमा ज्याला मजदुरी गरी फर्केर क्वारेन्टाइनमा बसेकाहरुलाई आफ्नै गाउँठाउँमा पनि कुनै उद्यम व्यवसाय गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने बुझाउनका लागी स्वरोजगार अभियान संचालन गरिएको हो ।
ठाकुरबाबा नगरपालिकाले आफ्नो पालिकाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुका लागि यस्तो अभियान संचालन गरेको हो । नगरपालिकाका ४ स्थानमा रहेका क्वारेन्टाइनमा स्वास्थ्य शिक्षा तथा आर्थिक बिकास सचेतना एवं अभिमुखीकरण कार्यक्रम संचालन गरेर स्वास्थय र स्वरोजगार शिक्षा दिन थालेको हो ।
सहजीकरणका लागि नगरका कृषि शाखाका कर्मचारी र स्वास्थयकर्मीहरुले आलोपालो क्वारेन्टाइन स्थलमै पुगेर प्रशिक्षण दिईरहेका छन् । साझँ र विहानको समयमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई खुला चौरमा भेला गराई स्वास्थ्य र स्वरोजगार शिक्षा दिन थालिएको हो ।
क्वारेन्टाइन अवधि पुरा गरेर घर गएकाहरुले घर बस्दा अपनाउने सावधानिका विषयमा स्वास्थ्यकर्मीहरुले प्रशिक्षण दिने गरेका छन् भने स्थानिय स्तरमा गर्न सकिने कृषि तथा अन्य ब्यबसायका बारेमा कृषि कर्मचारीहरुले अभिमुखीकरण गर्ने गरेका छन् ।
क्वारेन्टाइनमा बसेकाहरुलाई कृषि ब्यबसाय, संचालनमा उपाय, सम्भावना, अवसर, फाईदा लगाएतका विषयमा अभिमुखीकरण गर्ने गरिएको कृिष शाखा प्रमुख धुर्वराज वमले बताए ।
स्थानिय स्तरमै ब्यबसाय संचालन गर्न सक्ने प्रशस्त सम्भावना भएकाले कुनैपनि व्यवसाय संचालन गरेर आत्मनिर्भर बन्न सकिने कुरामा अभिप्रेरीत गर्न उक्त प्रशिक्षण सुरु गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए । क्वारेन्टाइनमा स्वरोजगार शिक्षा पाएपनि आफुहरुलाई खुसी लागेको क्वारेन्टाइनमा बसेकाहरुले जनाएका छन् ।

SHARE