विमला ढकाल,
बैशाख २१,२०७७ बर्दिया : किसानहरुले उत्पादन गरेका तरकारी खेर जान थालेपछि बर्दियाको ठाकुरबाबा नगरपालिकामा घुम्ती सेवामार्फत गाउँगाउँमा पुगेर तरकारी बिक्रि गर्न थालिएको छ ।
ठाकुरबाबा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहजीकरणमा किसानहरुले उत्पादन गरेका तरकारी बिक्रिका लागि घुम्ती सेवा अभियान सुरु गरिएको ठाकुरबाबाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए ।
लकडाउनका लम्बिदै जाँदा किसानहरुको तरकारी बारीमै खेर नजावस् भन्ने उदेश्यले ठाकुरबाबा नगरपालिकाको सहजीकरणमा तरकारी संकलन तथा बिक्रिका लागि कृषि एम्बुलेन्स जस्तै घुम्ती सेवा अभियान संचालन गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुवराज बमले बताए।
नेउलापुर कृषि उपज बजार समितिले किसानको बारीमै पुगेर तरकारी संकलन गर्ने गर्छ । संकलन भएको तरकारी नगरपालिकाले गाडीमा राखेर नगरको गाउँगाउँ, टोलटोलमा पुर्याउने गरेको छ । विहान ९ बजेदेखि साँझ ६ बजेसम्म टोलटोलमा पुर्याएर नगरका टोलबासीलाई पायक पर्ने १० ठाउँमा गाडी रोकेर तरकारी बिक्रि गर्ने गरिएको छ । एउटा टोलमा झण्डै एक घण्टादेखि डेढ घण्टासम्म गाडी रोकेर गरेर तरकारी बिक्रि गर्ने गरिएको व्यवस्थापक जानुका पाण्डेले बताए ।
नगर क्षेत्रका विभिन्न किसानले उत्पादन गरेको लौका, बोडी, भिण्डी, करेला, काक्रो, फर्सी र सागपातजस्ता हरिया तरकारी बिक्रि हुने गरेको कृषि शाखाले जनाएको छ । नेउलापुर कृषि उपज बजार समितिले तरकारी संकलन र बिक्रि उपसमिति बनाएर उपसमितिलाई किसानले उत्पादन गरेको तरकारी संकलन र बिक्रिको जिम्मेबारी दिएको छ ।
किसानसँग बारीमै तरकारीको मूल्य तय गरि तरकारी बिक्रि गरेर अर्को दिन किसानलाई भुक्तानी दिने गरिएको गरिएको नेउलापुर कृषि उपज बजार समितिका सचिब सविनजंग शाहीले बताए ।
तरकारीको बिक्रि मूल्य नेउलापुर कृषि उपज बजार समिति र कृषि शाखाको समन्वयमा तय गर्ने गरिएको छ । तरकारीको थोक तथा फुटकर मूल्य कायम गरि बिक्रि वितरण गर्ने गरिएको छ । तरकारी बिक्रिको हरहिसाब उपसमितिले राख्ने गर्छ भने नगरको कृषि शाखाले बजारीकरण तथा प्रविधिक सहयोग गर्ने गरेको छ ।
घुम्ती सेवामार्फत बिक्रि हुने तरकारी बजार मूल्य भन्दा कम हुने गरेको कृषि शाखाका प्रमुख ध्रुवराज बमले जानकारी दिए। नगरका ९ वटै वडाका किसानको तरकारी आलोपालो गरेर संकलन गर्ने गरिएको छ । नगरमा तरकारी धेरै संकलन भएमा अन्य पालिका तथा बाहिरी जिल्लामा समेत घुम्ती सेवा संचालन गर्ने योजना रहेको कृषि शाखा प्रमुख बमले बताए।
लकडाउनले बजार तथा होटेल व्यवसाय बन्द भएपछि किसानको तरकारी बिक्रि हुन सकेको थिएन । तरकारी बिक्रि नभएर बारीमै सड्ने चिन्ताले पिरोलिएका तरकारी किसान बारीबाटै तरकारी बिक्रि हुन थालेपछि खुशी भएका छन् । भने उपभोक्तालाई पनि तरकारी किन्न बजार जानुपर्ने बाध्यता हटेको छ ।
बारीबाटै तरकारी उठ्न थालेपछि निकै सहज भएको तरकारी उत्पादक किसान बलबहादुर थापाले बताए । ‘लकडाउन लम्बिदै जाँदा तरकारी बारीमै सडने अवस्था थियो, घुम्ती सेवा सुरु भएपछि किसानलाई तरकारी बिक्रि गर्न समस्या नहुने भयो’ उनले भने ।
बजारभन्दा सस्तो मुल्यमा गाउँटोलमै हरियो ताजा तरकारी किन्न पाएपछि नगरबासी पनि खुशी भएका छन् । केही किसानहरुले अझैँ पनि साइकलमा तरकारी राखेर टोलटोल घुम्ने गरेका छन् ।