विमला ढकाल, बर्दिया, बैशाख २१ ,२०७७ : कोरोना भाइरस महामारीका कारण लामो समयसम्मको बन्दाबन्दीका बेला खाद्यान्न अभाव भयो भन्दै स्थानीय सरकारसँग राहत माग्नेहरुको सूची हरेक स्थानीय तहमा लामै छ । नहुने भन्दा हुने खानेको सूची पनि हुन्छ । नहुने भन्दा हुने खानेहरुले पनि राहत माग्न थालेपछि कतिपय स्थानीय सरकारलाई राहत बाड्न पनि समस्या परेको छ ।
तर बर्दियाको बढैयाताल गाउँपालिका ९ सेवानगर र प्रगती टोल गाउँका सुकुम्बासीहरुले भने आफ्नो गाँस कटाएरै भएपनि आफुभन्दा विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग गरेर मनकारी भाव देखाएका छन् । बढैयाताल गाउँपालिका ९ सेवानगर र प्रगती टोलका सुकुम्बासीहरुले मुठीदान संकलन गरेर यस्तो मनकारी भाव देखाएका गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुन सुबेदीले जानकारी दिए ।
आफू पनि ज्याला मजदुरी गरेर साझ विहानको गाँस जोहो गर्ने सुकुम्बासीहरुले बन्दाबन्दीका कारण आफुहरु भन्दा अझै विपन्न परिवारको छाक नटुटोस् भनेर आफनो एक गाँस काटेर भएपनि सहयोग गरेको सेवा नगर टोलका सुकुम्बासीले बताएका छन् । सेवा नगर टोलमा बसोबास गर्नेहरु सबै सुकुम्बासी हुन् । दैनिक ज्याला मजदुरी गरेर उनीहरु खानाको जोहो गर्छन् ।
बन्दाबन्दीका कारण उनीहरुले मजदुरी गर्ने ठाउँ पाएका छैनन् । मजदुरी गरेको पैसाले केहीले बन्दाबन्दीमा खाद्यान्न जोहो गरेका छन् भने मजदुरी गर्ने मान्छे थोरै तर परिवार धेरै भएकाले खाद्यान्न जुटाउन सकेका हुँदैनन् । साँझविहानको छाक टार्न मुस्किल भइरहेका घरपरिवारलाई सुकुम्बासीहरुले मुठी दान संकलन गरेर छिमेकीलाई सहयोग गरेका हुन् ।
सुकुम्बासीहरुले मुठी दानबाट संकलन गरेको २ सय ३२ किलो चामल र १९ किलो गहँु बढैयाताल गाउँपालिका ९ का वडाध्यक्ष कान्छु थारुलाई हस्तान्तरण गरेका छन् । सुकुम्बासीले सुकुम्बासी परिवारबाटै संकलन गरेको खाद्यन्न अति विपन्न सुकुम्बासी परिवारलाई प्रदान गरिने वडाध्यक्ष थारुले बताउए । राहतका लागि लुछाचुँडी भइरहेको बेला राहत पाउने अधिकार भएका सुकुम्बासीले नै मुठी दान गरेर विपन्नलाई सहयोग गर्नु निकै प्रशंसनिय काम भएको स्थानियबासी बताउँछन् ।
स्थानीय सरकारबाट राहत पाउनेको सूचीमा हुनेखाने वर्ग पनि परेपछि प्रायः केही स्थानिय तहमा विवाद छ । नाम संकलनमा विवाद भएपछि कतिपय स्थानीय तहले राहत बाँड्न पनि सकेका छैनन् । यस्तो विपद्को बेलामा हुनेखानेहरु पनि राहत पाउनेमा परेपछि गरिव विपन्नहरु मर्कामा परेको पीडितहरुको गुनासो छ । घरमा खाद्यान्न थुपारेर राहतको लाइनमा बस्नेहरुका लागि सुकुम्बासीहरुले गरेको यो काम सिकाई योग्य हुने स्थानीयहरु बताउँछन् ।
दुःखी गरिबको सबैको पिँडा दुःखीले नै बुझ्छ । सुकुम्बासीहरुले गरेको कामको प्रशंसा गर्दै ‘आफनो चुलो बलिरहँदा छिमेकीको चुलो ननिभोस् भनेर सुकुम्बासीहरुले यस्तो मनकारी भावना देखाए । उनीहरु प्रति स्थानीय सरकार आभारी छ ।’ बढैयातालका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीले भने ।सरकारले दिने राहत हात पार्न हुनेखाने पनि तछाडमछाड गरिरहेको बेला सुकुम्बासीहरुले सरकारी राहतको मुख नताकि छिमेकीलाई मुठी दान गरेर सहयोग गर्नु उदाहरणीय कार्य भएको बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीले बताए।