मुसिकोट नगरपालिकाले भन्यो नियमित कृषि कर्म नरोक्नुहोस्

0
494

बैशाख १७,२०७७ गुल्मी  :  गुल्मीको मुसिकोट नगरपालिकाले कोरोना भाइरसका कारण जारी लकडाउनमा पनि कृषि कर्म जारी राख्न किसान तथा त्यससँग सम्बन्धित सबै सर्वसाधारणलाई अनुरोध गरेको छ । त्यस्तै नगरपालिकाले नियमित हुँदै आएका निर्माणका काम पनि गर्न आग्रह गरेको छ ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको अवस्थामा समेत कृषि सम्बन्धी गतिविधि नियमित नराखे आउने दिनमा खाद्य असुरक्षाको अवस्था आउने सक्ने सम्भावना रहने भएकाले कृषि कर्मलाई जारी राख्न आग्रह गरिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।
नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार कृषि कर्म जारी राख्नका लागि सामाजिक दुरी अर्थात कम्तीमा ३ फिटको दुरी कायम गरी व्यक्तिगत सुरक्षाका लागि मास्क लगाउने वा रुमाल प्रयोग गर्न पनि आग्रह पनि गरिएको छ । संभव भएसम्म जग्गा बाँझो नराखौ, सिजन अनुसार जुन बाली लगाउन सकिन्छ सो बाली लगाउने कार्यमा लाग्न आग्रह गर्दै नगरपालिकाले कृषि कर्मका लागि सकेसम्म मेसिन प्रयोग गर्ने र त्यो प्रयोग गर्नु अघि र पछि सावुन पानीले हात धुन अनुरोध समेत गरेको छ ।
पशुपक्षी गोठ वा फर्ममा कार्य गर्दा छुट्टै लुगा र जुत्ता प्रयोग गर्न र पशुपक्षीमा स्वास्थ्य सम्बन्धी कुनै समस्या देखापरेमा नजिकमा रहेका पशुसेवा प्राविधिकसगं सम्कर्प राख्न पनि आग्रह गरिएको छ ।
त्यस्तै नगरपालिकाले विकास निर्माणका काम लगायत अन्य व्यक्तिगत निर्माणका कामलाई पनि निरन्तरता दिन आग्रह गरेको छ । लकडाउनका कारण सबै क्षेत्र प्रभावित बनेको भएपनि सामाजिक दुरी कायम राखेर सावधानी पूर्वक निर्माणका काम गर्न आग्रह गरिएको नगरप्रमुख सापकोटाले जानकारी दिए ।

SHARE