रामपुरमा बाँझो जग्गामा खेती गर्न एक सय ९७ कृषकबाट निवेदन पेश

0
747

सुशीला रेग्मी

रामपुर १७ वैशाख  : पाल्पाको रामपुर नगरपालिकाले बाँझिन पुगेका खेतीयोग्य जमिनमा अनुदान दिन निवेदन माग गरेपछि एक सय ९७ कृषकको निवेदन परेको छ । नगरपालिका भित्र एक हजार एक सय २३ रोपनी क्षेत्रफलमा मकै र दुई सय २७ रोपनी क्षेत्रफलमा तरकारी खेतीका कृषकबाट निवेदन परेको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताउनुभयो ।

बाँझिन पुगेका खेतीयोग्य जमिनमा खेती गर्ने कृषकलाई रामपुर नगरपालिकाले अनुदान दिने भएको छ ।खाद्यान्न तथा तरकारी बालीमा आत्मनिर्भर बनाउने उद्धेश्यले पहिला खेती गरेका र पछि बाँझिन पुगेका जग्गामा खेती गर्नेलाई अनुदानको कार्यक्रम ल्याइएको हो ।

हालको लागि बाँझो जग्गामा मकै खेती गर्नेलाई प्रतिरोपनी रु तीन हजार र तरकारी खेती गर्नेलाई रु पाँच हजार अनुदान उपलब्ध गराइने नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

“गाउँका खेतीयोग्य जमिन अहिले बनमाराले भरिन थालेका छन्, बाहिरबाट ठुलो परिमाणमा खाद्यान्न तरकारीजन्य पदार्थ ल्याउनु परेको छ, यहीँको उत्पादनले रामपुरबासीलाई आत्मनिर्भर बनाउने र जमिन बाँझो नराख्न अनुदान कार्यक्रम ल्याएका हौँ” नगर प्रमुख थापाले भन्नुभयो ।

बाँझिएका जमिनमा खेती गर्नेलाई अनुदान दिइने भएपछि गाउँघरमा अहिले बाँझिन पुगेका जमिन खनजोत गर्ने, मकै छर्ने र तरकारी लगाउने कार्य सुरु गर्न थालिएको छ ।

नगरपालिकाले तत्कालका लागि छिटो उत्पादन लिन दुई वर्ष यता बाँझिन पुगेका जग्गा छनौट गरेको छ । अनुदान दिने भएपछि बाँझिएका करिव सात रोपनी जग्गामा मकै छर्ने तयारी गरेको पार्वती न्यौपाने बताउनुहुन्छ ।

नगरपालिकाले ल्याएको यो कार्यक्रमले खेती गर्न छाडेका जमिन सदुपयोगमा आउने र कृषि उत्पादनमा बृद्धि हुने हुदा यहाँका नागरिकको आयस्तर बढ्ने रामपुर उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले बताउनुभयो ।

धान उत्पादन गर्ने कृषकलाई पनि नगरपालिकाले अनुदानमा वीउ वितरण गर्ने भएको छ । वडा वडाबाट निवदेन माग गरिएको छ ।

SHARE