इस्माले अलपत्र परेकाको कोठा भाडा तिर्ने ,गाउँ आउने २ सर्त

0
445

टोपलाल अर्याल
गुल्मी, १६ बैशाख  : इस्मा गाउँपालिकाले लकडाउनका कारण अलपत्र परेकाहरुको खाने बस्ने व्यावस्था गर्ने भएको छ । लकडाउनलाई थप कडाई गर्ने योजनाका साथ अलपत्रहरुलाई सहजीकरण गर्ने योजना बनाएको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए ।
उनले गृह मन्त्रालयको पछिल्लो निर्देशन र कोरोना संक्रमण बढि रहेको अवस्थामा आ–आफ्नो स्थानमै सुरक्षित रहन सवैलाई आग्रह गरे । विभिन्न स्थानीय तहमा विभिन्न शहरबाट पहुँचको आधारमा मान्छे गाउँ पठाउने क्रम बढेपछि अन्यले पनि दवाब दिन थालेका छन् । सोहि अवस्थालाई मध्येनजर गरेर मंगलबार बसेको इस्मा गाउँ कार्यपालिकाको बैठकले अलपत्र परेर खान र कोठाभाडा तिर्न मुस्किल परेकाहरुलाई खाद्यान्य र भाडा उपलब्ध गराउने बिष्टले बताए । ‘खान र कोठाभाडा तिर्न नसकेर अलपत्र परेको आधिकारिक सूचना आए खान बस्न पैसा पठाउँछौ,’उनले भने,‘बिना कारण घर आउन खोजेर अप्ठ्यारो कसैले पार्न भएन ।’
त्यस्तै इस्मा गाउँपालिकाले गाउँ आउनेको हकमा दुई खाले निर्णय गरेको छ । पहिलो निर्णय सुरक्षित स्थानबाट सम्बन्धित स्थानीय तहले होम क्वारेन्टाइनमै बसेको प्रमाणित गरेर पठाए गाउँ आउन सकिने छ । त्यस्ता व्यक्ति वडाको निगरानीमा होमक्वारेन्टाइनमा बस्नुपर्ने गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् । त्यस्तै भारत तथा नेपालकै कोरोना संक्रमण फैलिएको स्थानबाट आए गाउँपालिकाले तोकेको क्वारेन्टाइनमा बस्नुपर्नेछ । जसको लागि इस्मा गाउँपालिका ५ को आनन्दपुर माविमा महिला र वडा नं ३ को ठाढुङ्गा माविमा पूरुषको लागि क्वारेन्टाइनको व्यावस्था गरिएको खत्रीले जानकारी दिइन् ।

SHARE