गुल्मीमा साढे १२ हजार अति बिपन्न परिवारले राहत पाए ,दोस्रो चरणमा अझै बढिले पाउने

0
427

बैशाख १५,२०७७ गुल्मी ः गुल्मीमा पहिलो चरणमा करिव साढे १२ हजार विपन्न परिवारले खाद्यन्न पाएका छन् । जिल्लाका दुई नगर र १० गाउँपालिकाले पहिलो चरणमा १२ हजार दुई सय ७० जनालाई राहत वितरण गरेका हुन् । अहिले केहि स्थानीय तहले दोस्रो चरणको राहत वितरणको योजना बनाएका छन् । सवै स्थानीय तहले दोस्रो चरणमा पहिलेकोभन्दा धेरैलाई राहत वितरण गर्ने बताउदै आएका छन् ।

रेसुङा नगरपालिकाले पहिलो चरणमा १४ वडाका एक हजार चार सय ९१अति विपन्न परिवारलाई राहत वितरण गरिसकेको छ । रेसुङा नगरपालिकाले परिवार संख्याको आधारमा चार भागमा बर्गीकरण गरेर राहत प्रदान गरेको थियो । रेसुङाले दोस्रो चरणमा पहिलेको भन्दा दोब्बर अर्थात तीन हजार विपन्न परिवारलाई राहत वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।
त्यस्तै मदाने गाउँपालिकाले दोस्रो चरणमा एक हजार दुई सय २० विपन्न परिवारलाई राहत वितरणको योजना बनाएको छ । पहिलो चरणमा आठ सय २४ घर परिवारलाई राहत वितरण गरेको मदाने गाउँपालिकाका सूचना अधिकारी क्रृषिराम पोख्रेलले जानकारी दिए । यो पटक पहिलेको भन्दा तीन सय ९६ बढि परिवारलाई राहत वितरण गरिने पोख्रेलले बताए ।
मालिका गाउँपालिकाले पहिलो चरणमा सात सय ७५ जनालाई राहत वितरण ग¥यो । दोस्रो चरणमा एक हजार सात सय ७३ अर्थात पहिलेको भन्दा झण्डै एक हजार बढि परिवारलाई राहत प्रदान गर्ने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए ।

पहिलो चरणमा मुसिकोट नगरपालिकाले दुई हजार दुई सय ९७, धुर्कोट गाउँपालिकाले सात सय ७५ र गुल्मी दरवार गाउँपालिकाले सात सय ९२ परिवारलाई राहत वितरण गरेको छ ।
त्यस्तै इस्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतका अनुसार पहिलो चरणमा इस्मा गाउँपालिकाले एक हजार दुई सय ४३ परिवारलाई राहत वितरण गरेको छ । दोस्रो चरणको बिषयमा पनि छलफल भईरहेको महतले बताए । पहिलो चरणमा छत्रकोट गाउँपालिकामा आठ सय १५, रुरु क्षेत्र गाउँपालिकामा पाँच सय ८८, चन्द्रकोट गाउँपालिकामा छ सय ८१, सत्यवति गाउँपालिकामा सात सय ५२ र कालीगण्डकी गाउँपालिकामा एक हजार दुई सय ३३ परिवारलाई राहत वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए ।

SHARE