भारतबाट आएका ५२ जनालाई क्वारेन्टाइनमा राखियो

0
397

हुमाकान्त पोखरेल
गुल्मी
१५ वैशाख । भारतमा २८ दिन क्वारेन्टाइनमा बसेका ५२ जनालाई पुनः क्वारेन्टाइनमा राखिएको छ । गुल्मीको धुर्कोट गाउँपालिकाका नागरिकलाई विभिन्न विद्यालयका क्वारेन्टाइनमा राखिएको हो । नेपाल र भारत सरकारको आपसि समझदारिमा नेपालमा रहेका भारतियलाई नेपाल सरकारले र भारतमा रहेका नेपालीलाई भारत सरकारले क्वारेन्टाइनमा राख्ने निर्णयअनुसार धुर्कोटका ५२ जना भारतको नौतुन्नामा क्वारेन्टाइनमा बसेका थिए ।सुरुमा १४ दिन क्वारेन्टाइनमा बस्ने र त्यसपछि स्वदेश आउने भनिएपनि सरकारले ल्याउने प्रबन्ध गर्न नसक्दा थप १४ भारतमै बस्नुपरेको हो।

उनीहरुलाई गाउँपालिकाका विभिन्न वडाहरुमा बनाइएका क्वारेन्टाइनमा राखिएको छ । जसअनुसार वडा नम्बर १ नयाँगाउँस्थित कालिका प्राथमिक विद्यालयमा ३२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यहाँ तीन महिला र बाँकि २९ जना पुरुष छन् । खाल प्राथमिक विद्यालय, खालमा १० जनालाई क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष कमल थापाले जानकारी दिए । वडा नम्बर २ पिपलधारास्थित गणेश माविमा १० जनालाई क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै वडा नम्बर ७ वाग्लामा दुईजनालाई क्वारेन्टाइनमा राखिएको छ ।

योसँगै धुर्कोट गाउँपालिकाभरी क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ७५ पुगेको छ । यसभन्दा अगाडी विभिन्न विद्यालयमा २३ जना क्वारेन्टाइनमा बसेका छन् । गाउँपालिकाबाट अहिलेसम्म २५ जना क्वारेन्टाइनबाट छुटेका छन् । क्वारेन्टाइनमा बसेकाहरुको नियमित स्वास्थ्य जाचँ हुने गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए ।

SHARE