विमला ढकाल, बर्दिया, बैशाख १३ :भारतमा कोरोना पोजेटिभ देखिएका व्यक्तीका भाईको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ ।
एक महिना अघि घर आएका उनको परिरक्षणका क्रममा आर।डी।टी रिपोर्ट नेगेटिभ आएको हो । भारतबाट नेपाल फर्कन लागेका बर्दिया ठाकुरबाबा नगरपालिका निवासी उनका दाजुलाई कोरोना पोजेटिभ देखिएको छ ।
संगै काम गरेर घर फर्केको भएकाले उनलाई पनि संक्रमण भएको हुन सक्ने आशंकामा उनको स्वाब परीक्षणका लागी पठाईएको छ । स्वाब परिक्षणको रिपोर्ट भने आज साझ सम्म आउने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले जानकारी दिए ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर २ सुजनपुर गाउँका उनलाई भारतको बहराइचमा कोरोना परीक्षण गर्दा पोजिटिभ पाइएपछि ठाकुरबाबा नगरपालिकामा थप कडाई गरिएको छ । लकडाउनका कारण घर फर्कन नपाएका कोरोना संक्रमित नेपाली मजदुर हाल भारतीय आइसोलेशनमा उपचारारत छन् ।
केही महिनाअघि उनीसँगै रहेका उनका भाई लकडाउन पूर्व नै नेपाल आइसकेकाले उनलाई पनि एकान्तबासमा राखी स्वाब परीक्षणका लागि पठाइएको हो ।
क्रसरमा काम गर्ने दूई जना को स्वाब परीक्षणका लागी पठाईयो
बर्दियाको छिमेकी जिल्ला भारतको बहराइचमा ८ जना मध्ये भारत लखनउको कानपुरमा काम गर्ने ठाकुरबाबा २ सुजनपुरका एक जनामा र राजापुर, मधुवन नगरपालिका आसपासमा काम गर्ने २ जना भारतिय नागरिकमा कोरोना पुस्टि भएको बताईएको छ ।
८ जना मध्ये दुईजना भारतिय नागरिक मधुवन नगरपालिका र राजापुर नगरपालिका कोठियाघाटबाट हिँडेर भारतको बिछिया हुँदै बहराइच पुगेपछी उनिहरुलाई क्वारेन्टाइनमा राखिएको बहराइचबाट आफ्ना आफन्तले जानकारी गराएको ठाकुरबाबा स्वास्थ्य शाखाका डा। कुलदिप यादवले बताए ।
क्रसर उद्योगमा काम गर्ने थप २ जनाको स्वाब परीक्षणका लागी पठाइएको जनस्वास्थय निरीक्षकचौधरीले बताए । उनिहरुको रिपोर्ट पनि आज साँझ सम्म आउने जनाईएको छ । बर्दियाको राजापुर स्थित क्रसर उद्योगमा काम गरेर भारत गएका २ जनामा भारतमा परिरक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो । उनिहरु लकडाउनका अवस्थामा केही दिनअघि भारतस्थित आफ्नो घर पुगेका थिए ।
उनीहरुलाई भारतमै परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको भनी भारतीय प्रहरी अधिकारीबाट पत्र प्राप्त भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । कोठियाघाट क्षेत्रमा कामगर्ने मजदुरहरुमा कोरोना पोजिटिभ भेटिएकाले आवश्यक कारवाही चलाउन भारतीय अधिकारीबाट नेपाललाई अनुरोध गरिएको छ ।
किट अभाबले परिक्षणमा समस्या
नेपाली उद्योगमा कार्यरत भारतीयमा कोरोना पोजिटिभ भेटिएपछि बर्दियास्थित कोठियाघाट क्षेत्रमा उच्च सर्तकता अपनाईएको प्रजिअ लामिछानेले जानकारी दिए । त्यस क्षेत्रका सबैको स्वाब परिक्षण गर्न बर्दियामा अहिले भाइरस ट्रान्सफर मिडियम भीटीएम किट अभाब हुदा समस्या हुने जनाईएको छ ।
भीटीएम किट माग गरिरहेको तर अहिले सम्म आईनसकेको प्रजिअ लामीछानेले बताए । उक्त किट आएपछि संकास्पद सबैको नमुना परिक्षण गरिने उनको भनाई छ । प्रशासनले अहिले पिसिआर बिधिबाट नमुना परीक्षणको तयारी गरिरहेको जनाएको छ ।
अहिले सुजनपुर गाउँका १ जना, क्रसर उद्योगमा काम गर्ने २ जना र जिल्ला अस्पतालमा रहेका २ जना गरि ६ जनाको स्वाब परिक्षणका लागी भेरी प्रदेशिक अस्पताल नेपालगञ्ज पठाईएको जनस्वास्थय निरीक्षक चौधरीले बताए ।
बर्दियामा थप सुरक्षा सतर्कता
कोरोना भाइरस संक्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउन बर्दियामा थप कडाइ गरिएको छ । बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका मुख्य बजार, चोक र गाउँमा नेपाली सेना पनि खटिएको छ ।
भारतको बहराइचमा कोरोना भाइरस संक्रमण पुष्टि भएका व्यक्तीसंगै रहेका उनका भाई एक महिनाअघि आफ्नो घर आएका आएकाले उच्च सर्तकता अपनाउन उनको आरडिटी र स्वाब परीक्षण गरिएको हो ।
सुजनपुर गाउँ आसपासमा प्रहरी परिचालन गरि गाउँ सिल गरिएको छ । स्थानिय एफ। एम। रेडियो र इलाका प्रहरी कार्यालयले माइकिङ पनि गरिरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक बसन्त पाण्डेले बताए । यससँगै बर्दियामा सर्तकता बढाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
नेपाल भारतको सीमामा पर्ने बर्दिया जिल्लासंग जोडिएको बहराइचमा एक जना नेपाली सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतसँग सीमा जोडिएको सीमा क्षेत्रमा उच्च सर्तक रहन सुरक्षाकर्मीलाई निर्देशन दिईएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
स्थानीयमा त्रास बढ्यो
अहिले देखि संक्रमित युवाको घर संगै सुजनपुर र खुलपुर पुरै गाउँ लक गरिएको छ । अर्को सुचना नआएसम्मका लागि शुक्रबारदेखि ठाकुरबाबा नगरभित्र मेडिकल बाहेक अन्य सबै पसलहरु आकस्मिक निर्णय गरेर बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
गाउँ पुरै लक गरिएसंगै सुजनपुर खुलपुर गाउँका स्थानीयमा त्रास उत्पन्न भएको छ । उनिहरु कोरोना भाइरसको संक्रमण फैलिने त्रासमा घरमै बसिरहेका छन् । उनको स्वाब परिक्षणको रिपोर्ट नआउँदासम्मका लागि वडा नम्बर २ को सुजनपुर र खुलपुर गाउँ लक गरि आउजाउ बन्द गरिएको छ ।
अर्को सुचना नआउन्जेल मेडिकल बाहेकका सबै पसलहरु पनि बन्द गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए । त्यस क्षेत्रका स्थानीयलाई सचेत रहन तर नआत्तिन नगरप्रमुख क्षेष्ठले आग्रह गरेका छन् ।