लकडाउनमा घर, रुक बहादुरको भर

0
294

टोपलाल अर्याल
गुल्मी, १३ बैशाख : चिटिक्कको घर, नजिकै शौचालय पनि । यो बिपद्मा कैयनले दुख पाएका खबर छन् । तर इस्मा गाउँपालिका ३ दर्लामचौरका रुक बहादुर घर्तिले भने यो बिपद्मा घर पाए ।
उनले डेढ बर्षदेखि इस्मा गाउँपालिका ५ का रामलाल अर्यालको घरमा काम गर्थे । उनले काम गरेबापत मासिक सात हजार पारिश्रमीक पाउँछन् । त्यसैले घर्तिले श्रीमती, एक छोरा र दुई छोरीसहितको परिवार पाल्दै आएका छन् ।
दर्लामचौर रानाखोलाको सुकुम्बासीमा बस्दै आएका घर्ति परिवारले कहिल्यै सुखको अनुभुत गरेनन् । रुक बहादुरले सदरमुकामका होटल, भारतदेखि गाउँका विभिन्न स्थानमा मजदुरी गरेरै जीवन ढल्काए । अहिले पनि काम गर्छन् । काम गरिरहेकै परिवारले जग्गासहित घर बनाइदिए । जसका कारण घर्ति परिवारमा खुसीको सिमा रहेन् । ‘मैले बच्चाबाटै दुख पाएँ, बुबाको मृत्युपछि क्रृणले घर समेत छोडे,’उनले भने,‘अहिलेसम्म केटाकेटीलाई ओत र भोकमा मिठो दिन सकिन ।’ अर्याल परिवारको सहयोगले जीवनमा नयाँ उर्जा थपेको रुक बहादुरले बताए ।
खरले घर छाएकाले गाउँपालिकाबाट टीन पाउने आशा व्यक्त गरे । सुकुम्बासी बिपन्न परिवारको अवस्था देखेर आफुहरुले सहयोग गरेको आनन्दपुर माविका पुर्व शिक्षक समेत रहेका रामलाल अर्यालले बताए । उनले लकडाउन भएकाले आफुहरुनै पुरै काममा खटिएर घर र शौचालय निर्माण गरेको जानकारी दिए । अर्याल परिवारले घर र शौचालय निर्माणसंगै दुई रोपनी जग्गा समेत बिपन्न घर्तिलाई उपलब्ध गराएका छन् । राम्रो दिनमा गृह प्रवेश गराएर लकडाउन खुलेपछि घर जग्गा पास गर्ने योजना बनाएको रामलालका छोरा प्रेमसागर अर्यालले बताए । ‘यो लकडाउनको सदुपयोगसंगै बिपन्न परिवारलाई गरेको सानो सहयोग हो,’उनले भने,‘घर्ति परिवारको खुसीले मेरो परिवार सुखी बन्न सनोस् ।’
रामराज्य माविका शिक्षक समेत रहेका अर्यालले मालिक सधै मालिक र श्रमिक सधै श्रमिक बनेर पुस्ता सकिएका उदाहरणले आफु प्रभावित बनेका कारण घरपरिवारको सल्लाहमा सानो सहयोग गरेको बताए । यो कामले गाउँलेपन र मानवताको उदाहरण बोकेको छ ।

SHARE