लकडाउनको धज्जी उडाउँदै रातारात गुल्मी आउँनेको लर्को

0
432

टोपलाल अर्याल
बैशाख ११,२०७७ गुल्मी  :

गुल्मी जिल्लाले लकडाउनलाई कडाई गरिरहेका बेला एकाएक मान्छे गाउँ आउन थालेका छन् ।
बुधबार साँझ र बिहिबार बिहान जिल्लामा करिव ५० जना व्यक्ति बुटवलबाट आएका छन् । वुटवलबाट पश्चिम आएका मालिका गाउँपालिकाका २९ जना, इस्मा गाउँपालिकाका दुई, धुर्कोट गाउँपालिकाका दुई र एक जना मुसिकोट नगरपालिकाको एक जनालाई बसले छल्दी पनाहसम्म छोडेर फर्केको छ ।
रेसुङा नगरपालिका व्यक्तिहरु पनि देउराली, धागीथुम लगायतका स्थानमा झरेका छन् । तर आफुहरुसंग कसैले पनि समन्वय गरेर नपठाएकाले आएकाहरुको कुनै विवरण नभएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।
गुल्मी पश्चिमका पालिकाहरु जाने व्यक्तिहरुलाई भने इस्मा गाउँपालिकाले छल्दी पनाहमा सवैलाई ज्वरो परिक्षण गरि खाजाको व्यावस्था गरेर पठाउन समन्वय भइरहेको गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् । इस्माका दुई जनालाई भने ठाढुङा माविको क्वारेन्टाइनमा पठाएको खत्रीले बताइन् ।
उनले प्रदेश र केन्द्रबाट बिना समन्वय मान्छे पठाउन सुरु गरिए दुर्घटना हुने चेतावनी दिइन् । ‘विशेष अवस्थाको लागि मात्र निश्चित क्वारेन्टाइन वेड बनेका छन्, अहिले जस्तै हुल आउन थाले कसले कहाँ कसरी व्यावस्थापन गर्ने,’उनले भनिन,‘बाहिरबाट मान्छे मनलाग्दी आए गाउँमा कडाई गर्नुको अर्थ भएन् ।’
मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले विना जानकारी आएकाले २९ जनाको कसरी व्यावस्थापन गर्ने भन्ने बिषयमा छलफल भइरहेको बताए । पहुँचका आधार अहिले जस्तै मान्छेहरु गाउँ पठाउन थाले स्थानीय तहले थेग्ने स्थिती नभएको गिरीले बताए ।
‘बुटवलबाट गाउँ आएपछि काठमाण्डौ र अन्य स्थानकालाई के गर्ने,’उनले भने,‘जसले गरे पनि गलत निर्णय गरेर मान्छे पठाए ।’ उनले चैत ८ गते जिल्ला बिपद् व्यावस्थापन समितिले जिल्ला भित्रने सवैलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेकाले सवैलाई गाउँ ल्याएर क्वारेन्टाइनमा व्यावस्थापन गर्न मुस्किल पर्ने समेत बताए ।
प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मनत्री कुलप्रसाद केशीको निर्देशनमा मानिसहरु एक बस गाउँ आएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । ‘बुधबार अबेर मन्त्री ज्यूबाट मान्छे पठाएको खबर आयो, मैले प्रहरीलाई पालिका पहिचान गरेर पठाउन आग्रह गरेको हुँ,’उनले भने,‘स्थानीय तहलाई व्यावस्थापनमा समस्या परेको गुनासो आइरहेको छ ।’
उनले बिपद् व्यावस्थापन समितिले अलपत्र परेर जिल्ला आउनेलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्ने निर्णय गरेको बताउँदै मनलाग्दै आए सवैलाई गाह्रो हुने भएको सवै पक्ष गम्भिर बन्न आग्रह गरे । बुटवलबाट मानिसहरु घर गएको खबर पाएपछि काठमाण्डौ लगायतका शहरबाट गाउँ आउन नपाएकाहरु आक्रोशित बनेका छन् । काठमाण्डौमा बस्दै आएको इस्मा गाउँपालिका ४ का निर्मल पोख्रेलले समाजिक संजाल मार्फत एउटै जिल्लाबाट बुटवल र काठमाण्डौ बस्नेलाई पक्षपात नगर्न आग्रह गरेका छन् ।

SHARE