गुल्मीमा सबै स्थानीय तहमा आगलागीबाट क्षती कमगर्नका लागि दमकल खरिद गरिने

0
473

टोपलाल अर्याल
गुल्मी, १० बैशाख : गुल्मीमा सवै स्थानीय तहमा दमकल खरिद गर्ने निर्णय भएको छ । जिल्ला बिपद् व्यावस्थापन समितिको बैठकले आगलागीबाट ठुलो क्षति बेहोर्नुपर्ने अवस्थाको अन्त्यको लागि दमकल खरिद गर्ने निर्णय गरेको छ ।

केहि दिन अघि मात्रै चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बजारमा दमकल नभएका कारण ठुलो मानविय तथा भौतिक क्षति भएको थियो । पहाडी जिल्लाको सन्दर्भमा प्रत्येक वडा सडकको पहुँच छन् । टोल–टोलमा भने संभव छैन् । बर्षेनी सुख्खा समयमा घर, गोठ तथा जंगलहरुमा आगोनै निकै क्षति गर्ने गरेको सन्दर्भमा स्थानीय तहकै मागको आधारमा बिपद् व्यावस्थापन समितिले निर्णय गरेको प्रदेश ५ सांसद तथा नेकपा जिल्ला इन्चार्ज दिनेश पन्थीले जानकारी दिए । उनले अहिले सवै टोलमा दमकल नपुगे पनि आगामी दिनमा दमकललाई पनि महसुस गरेर सडक विस्तारको काम गर्नुपर्ने बताए ।

त्यस्तै बिपद् व्यावस्थापन समितिले पेट्रोलियम व्यावासायी संघले पेट्रोलियम पदार्थको अभाव हुन नदिने र पसलहरुबाट बिक्री वितरण तत्काल बन्द नगरे कडा कारबाही गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको बिषयमा बिपद् व्यावस्थापन समितिले जिल्ला बाहिरबाट आउने सबैलाई पालिकाको क्वारेन्टाइनमा अनिवार्य राख्ने, विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिट टेस्ट गर्ने र प्रमाण पत्र दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिए ।

बालबालिकालाई दिइने खोप तथा जेष्ठ नागरिक उपचार सेवा सुचारु गर्ने, अलपत्र परेका मजदुरलाई व्यावस्थापन गर्ने, विपन्न परिवारलाई केन्द्रीय मापदण्ड अनुसार खाद्यान्न राहत उपलब्ध गराउने निर्णय भएको पाण्डेयले बताए । त्यस्तै जिल्ला बाहिरबाट आउने तरकारी, फलफुल, अण्डा, मासु, कुखुरा, माछालाई विषादी जाँचपास, क्वारेन्टाइन चेकजाँच गरेको प्रमाणपत्र र जिल्लाको अनुमती लिएको आधारमा मात्र प्रवेश दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । किसानहरुलाई खेतीपाती गर्ने कार्यमा सहजीकरण र निरन्तरता दिने, स्वास्थ्य कार्यालयले औषधी आपूर्ति गर्ने, उद्योग बाणिज्य संघले खाद्यान्न आपूर्ति गर्ने, कृषि ज्ञान केन्द्रले मल, बिउ र किटनाशक औषधी व्यावस्थापन गर्ने निर्णय भएको शर्माले बताए ।

प्रत्येक एम्बुलेन्सलाई पार्टेसन गर्ने र अक्सिजन सिलिण्डर अनिवार्य रुपमा राखेर मापदण्ड अनुरुप संचालन गर्ने, बाढी र पहिरोको जोखिमपूर्ण बस्तीको स्थानान्तरण गर्ने साथै अति आवश्यक निर्माण कार्यहरुलाई सम्बन्धित पालिकाको सिफारिसमा अघि बढाउन सहजीकरण गर्ने निर्णय जिल्ला बिपद् व्यावस्थापन समितिले गरेको जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले बताए ।

SHARE