कपिलवस्तुको बालमन्दिरमा , २९ बच्चा पाल्न ३५ लाख खर्च

0
440

कपिलवस्तु,१० वैशाख  : कपिलवस्तुको तौलिहवामा रहेको कपिलवस्तु बाल गृह संचालनमा अनियमितता भएको आशंका गरिएको छ । बाल मन्दिर संग प्रयाप्त आम्दानीको श्रोत रहेको र जिल्ला भित्रका अधिकांश स्थानीय तहले सहयोग गर्दै आएपनि सधै अभाव देखाएर अनियमितता भइरहेको आरोप लगाइएको छ ।

कपिलवस्तु नगरपालिका नगर प्रमुख किरण सिंहले बालबालिकाको नाममा संकलन गरिएका रकम तथा श्रोत सहि ठाउँमा उपयोग नभएको र यसबारे आवश्यक छानबिन गर्न माग गरेका छन् ।

कपिलवस्तु बाल गृहमा हाल २९ जना बालबालिका र ४ जना आवासिय कर्मचारी छन् । उनीहरुलाई खाना खुवाउन र बालगृह संचालनमा समस्या आएको भन्दै सहयोगको सार्वजनिक अपिल गरिएपछि बालगृहमा अनियमितताको आशंका थालिएको हो ।

बालमन्दिरले जिल्ला प्रशासनमा दिएको आय व्यय विवरणले पनि अनियमिताको आशंका उब्जाएको छ । बालगृह प्रशासन प्रमुख रामप्रसाद आर्यलले दिएको विवरण अनुसार साउन देखि चैत सम्म बालमन्दिर संचालन गर्दा ३५ लाख खर्च भएको छ भने ३१ लख मात्र आम्दानी छ ।

२९ बालबालिकालाई खाना खुवाउन मात्रै १३ लाख ४२ हजार रुपैया खर्च भएको देखाइएको छ । जबकी त्यसै आय व्ययमा अर्को तर्फ २ लाख ५७ हजार बराबरको अन्न दानमा आएको बताइएको छ । खाना पकाउन आवश्यक पर्ने ग्यासमा मात्रै ६१ हजार ६ सय रुपैया खर्च गरिएको छ । ५ हजार १ सय रुपैयाको पानी किनिएको छ । बालबालिकालाई बालमन्दिर भित्रको धाराकै पानी खुवाइन्छ ।

जिल्लाका ६ वटा स्थानीय तहले चालु आ।ब।मा १३ लाख आर्थिक सहयोग गरेका छन् । प्रत्येक नागरिकता फारम विक्री बाट बालगृहले ४० रुपैया लिने गरेको छ । बालगृहको २६ वटा सटर भाडामा लगाइएका छन् । बालबालिकाको नाम बेचेर हुने गरेका अनियमितता रोक्न प्रशासनले छानबिन सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बालमन्दिरको आय व्यय बारे समितिबाट निर्णय गरि ल्याउने, लेखापरीक्षण गराउने र बाल कल्याण समितिले तोकेको मापदण्ड अनुसारको खानपिन र सुविधा बालबालिकालाई दिए नदिएको बुझ्ने बताए । प्रेसपाटीबाट

SHARE