खाद्य संकट टार्न खाद्य बचत घर

0
329

बैशाख ९,२०७७ गुल्मी  : गुल्मीको मुसिकोट नगरपालिकाले खाद्य संकट टार्न खाद्यन्न बचत घर स्थापना गर्ने भएको छ । लकडाउनका कारण दैनिक मजदुरी गरेर विहान बेलुकाको चुलो चलाउने गरिव मजदुरहरुको जिविका सहज बनाउने उद्देश्यले गाउँमै उत्पादित खाद्यान्न संकलन गरी बचत घर स्थापना गर्ने नगरपालिकाले निर्णय गरेको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।
तराइको चामल खरिद गरी राहत वितरण गर्नु भन्दा गाउँको कोदो मकै र धान गहुँ भएकाहरुबाट संकलन गरी बचत घरमा राख्ने र खाद्यान्न अभाव भएका परिवारलाई राहत वितरण गर्ने उद्देश्यका साथ खाद्य बचत घरको अवधारणा ल्याइएका सापकोटाले जानकारी दिए ।
मुसीकोट नगरपालिकामा प्रशस्त खेत, बारी भएका सम्पन्न परिवार र त्यो भन्दा पनि ठुलो मनकारीहरु धेरै रहेको भन्दै नगरप्रमुख सापकोटाले स्वच्छिक रुपमा बचत घरलाई अन्न दान गर्नेमा आफु विस्वस्त रहेको बताए ।
पुर्खाहरुले पञ्चायतकालसम्म टोल टोलमा बचत घर स्थापना गर्ने गरेको स्मरण गर्दै सापकोटाले यस्तै संकट टार्न उति बेलाका समाजसेवीहरुले ल्याएको बचत घरको अवधारण अहिले पनि वैज्ञानिक र व्यवहारिक भएको धारणा व्यक्त गरे ।
हाललाई नगरपालिकास्तरमा बचत घर स्थापना गर्ने , पछि सम्भाब्यताको आधारमा वडास्तरमा पनि गर्न सकिने र दाल तरकारी लगायतका अन्य खाद्यवस्तुको पनि बचत घरमा संकलन गर्न सकिने नगरपालिकाले उद्देश्य लिएको छ । नगरपालिकाले नगरभित्र दैनिक ज्यालादारी मजदुर लगायत अति बिपन्न दूई हजार २९९ जनालाई खाद्यन्न बितरण गरेको छ ।

SHARE