गुल्मीका स्थानीय तहद्वारा अलपत्र १ सय १५ जनाको उद्धार

0
358

७, २०७७ गुल्मी : गुल्मीका स्थानीय तहहरुले अलपत्र परेका मजदुरहरुलाई उद्धार गरी सम्बन्धित जिल्ला पठाएका छन्। मालिका गाउँपलिकाले अलपत्र परेका सल्यानका मजदुरहरुलाई घर पठाएको छ। बाग्लुङ हटियास्थित दरमखोलामा निर्माणाधीन राजा पुलमा कार्यरत सल्यानका १० जना मजदुरलाई उद्धार गरेर सल्यान पठाइएको मालिका गाउँपालिका प्रमुख रितबहादुर थापाले बताए।

ओखलढुंङा कन्स्ट्रक्सनका मजदुरहरु लकडाउनका कारण गाडी र काम बन्द भएपछि पैदल अर्खबाङ आएका थिए। उमेर ढल्केका र बालकसहितका महिलाहरु भएकाले उनीहरुलाई रोकेर खाना खुवाई गाडीको व्यवस्था गरी सल्यान सदरमुकामसम्म पठाइएको थापाले जानकारी दिए।

त्यस्तै प्युठानका १६ जना मजदुरलाई गुल्मीको धुर्कोट गाउँपालिकाले उद्धार गरेर घर पठाएको छ। पर्वतको रानीपानीमा खानेपानी आयोजनामा काम गर्ने १६ जना मजदुर हिँड्दै धुर्कोट पुगेका थिए। तीन दिन हिँडेर धुर्कोट आएका उनीहरुलाई शुक्रबार साँझ गाँस र बासको व्यवस्था गरेर शनिबार बिहानै जिपमार्फत घर पठाइएको गाउँपालिकाका प्रमुख भुपाल पोख्रेलले दिए । उद्धार गरिएका मजदुरमध्ये तीन जना प्युठान नगरपालिका ५ का र १३ जना वडा नम्बर ६ का छन्।

यस्तै छत्रकोट गाउँपालिकाले पोखरामा मजदुरी गर्दै आएका र पैदल यात्रा गरी गाउँपालिकासम्म आएका प्युठानका ६ जान मजदुरलाई यातायातको व्यवस्था गरी प्युठान पठाइएको गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए। यस्तै मदाने गाउँपालिकाले पर्वतबाट पैदल आएका दाङका ९ जना र बर्दियाका बाग्लुङबाट पैदल आएका ११ जना गरी २० जनालाई सम्बन्धित जिल्लामा पठाइएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए।

त्यस्तै मुसिकोट नगरपालिका ७ की वामीकी ३० वर्षीया उर्मिला पौडेल थापाको नगरपालिकाले उद्धार गरेको छ। पाल्पाको आर्यभञ्ज्याङमा १४ वर्षको छोरासहित बिरामी भएर अलपत्र अवस्थामा रहेकी महिलाको उद्धार गरेर मिसन अस्पतालमा उपचार भइरहेको मेयर सोमनाथ सापकोटाले बताए। यस्तै पर्वतबाट प्युठान जाँदै गरेको ११ जनालाई गाडीको व्यवस्था गरी प्युठान पठाइएको नगरपालिकाले जनाएको छ।

त्यसैगरी रेसुंगा नगरपालिकाले शुक्रबार शान्तिपुरबाट बाँके हिँडेका १५ जना र शनिबार बाँके, बर्दियाका गरी कुल ५० जनालाई गाडीको व्यवस्था गरी पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए।

नगरपालिकाले वडा नं १४ पराल्मीमा बेवारिसे अवस्थामा फेला परेका ५० वर्षीय भगवतसिंह नाम बताउने व्यक्तिको पनि उद्धार गरेको छ । उनलाई लामो समय क्वारेन्टाइनमा राखेर सम्पूर्ण स्वास्थ्य परीक्षणपछि रुपन्देहीको मानव सेवा आश्रममा शनिबार पठाइएको स्वास्थ्य संयोजक अर्यालले जानकारी दिए।

हेरौ अलपत्र परेका मजदुरहरुलाई गुल्मीका स्थानीय तहहरुले गरेको उद्धारका तस्बिरहरु , तस्बिर सौजन्य  :टोपलाल अर्याल

SHARE