रामपुर नगरपालिकाले बाँझो जग्गामा मकै र तरकारी खेती गर्न अनुदान दिने

0
1334
फाइल फोटो

सुशीला रेग्मी

रामपुर (पाल्पा), ७ वैशाख  : कोरना भाइरस (कोभिड १९) बाट बच्न जारी बन्दाबन्दीलाई लक्षित गर्दै रामपुर नगरपालिकाले खाद्यान्न र तरकारी खेतीमा कृषकलाई अनुदान दिने भएको छ ।

खाद्य सङ्कट हुन नदिन र बाहिरबाट आयात कृषिजन्य सामग्री रोक्न नगरपालिकाले खाद्यान्न तथा तरकारी खेती गर्न ईच्छुक कृषकलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।

खेती गर्दै आइरहेका तर दुई वर्ष यता बाँझो रहन गएका जग्गालाई सदुपयोग गर्दै तत्कालका लागि खाद्यान्नमा मकै बालीलाई र तरकारी खेतीलाई अनुदान दिने नगर प्रमुख रमणबहादुरर थापा बताउनुहुन्छ ।

“गाउँमा जग्गा बाँझिएर खेर गएका छन्, बन्दाबन्दीको समय काम पनि पुग्ने, जग्गा पनि सदुपयोग हुने र छिटो उत्पादन हुने खालका कृषिजन्य उत्पादनमा नगरपालिकाले अनुदान उपलब्ध गराउने भएको छ” नगर प्रमुख थापाले भन्नुभयो ।

बाँझो जग्गामा मकै खेती गर्न ईच्छुक कृषकलाई प्रति रोपनी रु तीन हजार र तरकारी खेतीका लागि प्रति रोपनी रु पाँच हजार अनुदान उपलब्ध गराउने नगर प्रमुख थापा बताउनुहुन्छ ।

शनिवार आर्थिक विकास परियोजना संजाल समितिको बैठक बसेर वैशाख ११ गतेभित्रमा अनुदान कार्यक्रममा सहभागी हुन खेती गर्न ईच्छुक कृषकबाट निवेदन आह्वान गरिएको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताउनुभयो ।

रामपुर नगरपालिका भित्र खेत एक हजार एक सय हेक्टर र बारी दुई हजार चार सय हेक्टर क्षेत्रफल छ । यहाँ खेत र बारी गरेर दुई हजार पाँच सय हेक्टरमा मकै खेती गरिदै आइएको छ ।

नगरपालिकाको माथिल्लो भागमा मकै उत्पादन हुने प्रशस्त जग्गा रहेपनि बाँदरको समस्याले भने खेती लगाउनै छाडिएको छ । गत पुष १ गतेबाट नगरपालिकाले बाहिरबाट आयातित कृषिजन्य पदार्थ रोक्न युवा लक्षित अनुदान कार्यक्रम पनि संचालनमा ल्याएको छ ।

SHARE