रामपुर नगरपालिकाले गाउँमै पुगेर स्वास्थ्य सेवा दिदै

0
458

सुशीला रेग्मी

रामपुर (पाल्पा), ६ वैशाख :  बन्दाबन्दीका समयमा मारमा परेका नागरिकलाई मध्यनजर गर्दै रामपुर नगरपालिकाले गाउँ गाउँमा पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको छ ।

नियमित औषधी सेवन गर्ने, दीर्घरोगी, ज्येष्ठ नागरिकलाई लक्षित गरी गाउ टोलमा गएर स्वास्थ्य परिक्षण, औषधी वितरण गर्न थालेको छ । शुक्रवार पहिलो दिन वडा नं ३ बाट सेवा दिन थालेको हो ।

वडाको गैलुक, लामटाङ्, डाबरा क्षेत्रका ९५ नागरिकको स्वास्थ्य परिक्षण गरेर उनीहरुलाई औषधी वितरण गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार उच्च रक्तचाप, मधुमेह, दम लगायतका रोगहरुको औषधी सेवन गर्दै आएका बिरामीलाई स्वास्थ्य परिक्षण पश्चात सहज रुपमा औषधी उपलब्ध गराएको छ ।

“बन्दाबन्दीका समयमा सवारी साधन ठप्प रहदा टाढा टाढा सम्म पैदल हिडेर अस्पताल सम्म जान नसक्ने अवस्था रहेकाले गाउँ टोलमा पुगेर नगरपालिकाले स्वास्थ्य सेवा दिन थालेको हो” नगर प्रमुख थापाले भन्नुभयो ।

नियमित औषधी सेवन गर्दै आएका उच्च रक्तचाप, मधुमेह, दमका बिरामीलाई आवश्यकता अनुसार औषधी प्रदान गरिएको र प्रेसर, ज्वरो जाँच सहित सामान्य उपचार सेवा दिइएको छ ।

नगरपालिका भित्र रहेका आठवटै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई दीर्घरोगी, नियमित औषधी सेवन गर्ने, ज्येष्ठ नागरिकलाई गाउँ टोल टोलमा पुगेर सेवा दिन नगरपालिकाले निर्देशन गरेको छ ।

SHARE