जुवा खेल्ने नेता र व्यापारी साढे पाँच लाखसहित पक्राउ

0
488

बैशाख ६, २०७७ बर्दिया  : विश्वरभर फैलिरहेको महामारी कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेको छ।

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने समुदायहरुलाई साँझ बिहान छाक कसरी टार्ने भन्ने पिरलो पनि उत्तिकै छ। तर, यस्तो अवस्थामा गरिव तथा विपन्न परिवारलाई सहयोग गर्न अघि बढ्नुपर्ने नेता र व्यापारीका हातहरु भने तासको बाउन्न पत्तीमा टाँसिएका छन्। उनीहरु जुवामा रमाइरहेको पाइएको छ।

लकडाउनका बेला बाँसगढीको एउटा होटलमा जुवा तास खेल्दै गरेको अवस्थामा बर्दिया प्रहरीले बिहीबार साँझ नेता तथा व्यापारीलाई पक्राउ गरेको छ। बाँसगढी नगरपालिकामा पर्ने बाँसगढी बजारमा रहेको अतिति होटलमा जुवा तास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले सातजनालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका केही स्थानीय नेता हुन् भने केही व्यापारी हुन्। जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेहरुमा बाँसगढी–५ का नरबहादुर वली, सुरश रेग्मी र सोदे विष्ट रहेका छन्। यसैगरि बढैयाताल गाउँपालिका–७ का श्रीकृष्ण गिरी, कोहलपुर नगरपालिकाका पुरन गिरी, शिसिर गिरी र श्याम कँवर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।

उक्त जुवाको खालबाट पाँच लाख ६० हजार ९० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरु उपर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए। उनीहरुलाई मुद्दा दायर गरी घर परिवारको जिम्मामा पठाइएको छ। लकडाउन सकिएलगत्तै जिल्ला अदालतको आदेशअनुसार जिल्ला प्रहरी कार्यालय बर्दियामा हाजिर गराई कारबाही प्रकृया अघि बढाइने एसपी बास्तोलाले बताए।

SHARE